काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहतका लागि सरकारले तत्काल २ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उपलब्ध गराउने निर्णय गरेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार उक्त रकम तत्काल उद्धार, राहत तथा खोजी कार्यमा प्रयोग गरिनेछ। ‘रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङ जिल्लामा ५० लाख रुपैयाँ जिल्ला विपद् व्यवस्थापनका माध्यमबाट पठाउँदै छौँ,’ उप्रेतीले भने, ‘सरकार यसमा एकदम संवेदनशील छ, सरकार र सरकारको संयन्त्र यसमा लागिरहेको छ।’
उप्रेतीका अनुसार तिब्बतको जिलोङ काउन्टीस्थित डोङलिन छाङ्गो रिभरमा हिमपहिरोपछि नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा नेपालतर्फ बाढी आएको हो। बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ। रसुवाको टिमुरे, स्याफ्रुबेसी र रसुवागढी क्षेत्रमा ठूलो धनजनको क्षति भएको प्रारम्भिक जानकारी आएको उनले बताए।
बाढीपछि विपद् कमान्ड पोस्टको बैठक बसेर उद्धार तथा राहतका लागि सुरक्षा संयन्त्र परिचालन गरिएको छ। जोखिम न्यूनीकरणका लागि सरकारका सबै संयन्त्र परिचालन गरिएको उप्रेतीले बताए।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान प्रणालीमार्फत बिहान ९ः०५ बजे चितवनसम्मका सम्भावित प्रभावित क्षेत्रमा एसएमएसमार्फत सतर्कता सूचना पठाइएको छ। बाढीको अवस्था निरन्तर निगरानीमा राख्दै आवश्यकताअनुसार प्रत्येक आधा घण्टामा अलर्ट जारी गर्ने व्यवस्था गरिएको छ।
उप्रेतीका अनुसार बाढी मलेखु पार गरिसकेको छ। मुग्लिङ बजारसहित त्रिशूली नदी करिडोरमा बाढीको प्रभाव पर्नसक्ने भएकाले ती क्षेत्रलाई उच्च निगरानीमा राखिएको छ। बाढीले जल तथा मौसम विज्ञान विभागको एउटा स्टेशनसमेत बगाएको उनले बताए।
माथिल्लो क्षेत्रमा बाढीको सतह घट्दै गएको प्रारम्भिक सूचना आएको छ। तिब्बततर्फको अस्थायी बाँध फुटिसकेकाले माथिबाट आउने बाढीको मात्रा क्रमशः घट्ने अपेक्षा गरिएको उप्रेतीले बताए।