काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा हुने भनिएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित हुने भएको छ ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय गरिएको थियो । तर, तिब्बततर्फबाट आएको भीषण बाढीका कारण विभिन्न जिल्लामा ठूलो क्षति भएपछि प्रधानमन्त्री बालेन्द्र शाह विपद्पछिको खोज, उद्धार तथा राहत व्यवस्थापनका विषयमा विभिन्न संयन्त्रसँग छलफलमा व्यस्त छन् ।
विपद्को समयमा अन्य विषयमा छलफल गर्नु उपयुक्त नहुने भन्दै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित गर्न लागिएको हो । यद्यपि, बाढी तथा विपद्को अवस्थाबारे भने प्रतिनिधिसभामा छलफल हुनेछ ।
आजको बैठकमा आकस्मिक समय राखिने र गृहमन्त्री सुधन गुरुङले रसुवामा आएको बाढी तथा त्यसबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराउने तयारी छ ।
बाढीसम्बन्धी विषयबाहेकका सम्भावित कार्यसूची पनि बैठकको कार्यसूचीबाट हटाइएको छ ।