काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम बढेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले भोटेकोशीमा पानीको बहाव अत्यधिक रहेकाले रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
प्रशासनका अनुसार बाढीका कारण नुवाकोटको विदुर नगरपालिकाअन्तर्गत त्रिशूली बजार क्षेत्रमा रहेका केही पुल तथा त्रिशूली र ढुंगे बजारका घर तथा बस्तीमा क्षति पुगेको सूचना प्राप्त भएको छ।
नेपाल प्रहरीले पनि भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी आएको भन्दै त्रिशूली नदी आसपासका जिल्लामा अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गृह मन्त्रालयको आपत्कालीन सूचनामा भोटेकोशीदेखि त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च जोखिममा रहेको उल्लेख गरिएको छ।
नदी किनारमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन तथा खोज तथा उद्धार वा अन्य सहायता आवश्यक परे तत्काल टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र ती क्षेत्रमा आवतजावत रोक्नसमेत अनुरोध गरिएको छ।
यसैबीच, रसुवाबाट आएको आकस्मिक बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै धादिङ प्रशासनले नदी किनारमा बसोबास गर्ने तथा नदीमा काम गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
धादिङका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा त्रिशूली नदीमा आकस्मिक बाढी आएको जानकारी प्राप्त भएकाले नदीको बहाव बढ्न सक्ने र थप विपद्को जोखिम निम्तिन सक्ने उल्लेख छ।
प्रशासनले नदीमा माछा मार्ने, मजदुरी गर्ने तथा अन्य कामका लागि जाने व्यक्तिलाई नदीमा नजान आग्रह गरेको छ। नदीमा गइसकेकाहरूलाई तत्काल सुरक्षित स्थानमा फर्कन पनि भनिएको छ। नदी आसपासका बस्ती, निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजना र तटीय क्षेत्रमा रहेका कार्यालयलाई आवश्यक पूर्वतयारी र सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।
कुनै विपद्जन्य घटना भए तत्काल जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, स्थानीय जनप्रतिनिधि वा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन प्रशासनले आग्रह गरेको छ। आपत्कालीन अवस्थामा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिने जनाइएको छ।
यसैबीच, भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। बाढीसँगै आएको लेदो र पहिरोले प्रहरी चौकी, भन्सार कार्यालय, होटल, पसल तथा सवारीसाधन बगाएको उनीहरूले बताएका छन्। बजार रहेको क्षेत्रमा समेत अहिले खोलो बगिरहेको प्रत्यक्षदर्शीहरूको भनाइ छ।
बाढीको पानी केही घटे पनि भोटेकोशी तथा त्रिशूली नदीको बहाव र तटीय क्षेत्रमा जोखिम कायमै रहेकाले प्रशासन तथा सुरक्षा निकायले सर्वसाधारणलाई नदी किनारबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।