काठमाडौं। विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई उचित शैक्षिक परामर्श दिनुका साथै विदेश पुगेपछि उनीहरूले भोग्ने समस्या समाधानमा सहकार्य गर्ने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच समझदारीपत्र (एमओयू) भएको छ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा इक्यान र एनआरएनएका प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीअनुसार विदेशमा रहेका नेपाली विद्यार्थीका समस्या पहिचान, सहजीकरण र समाधानमा दुवै संस्थाले सहकार्य गर्नेछन्।
कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले पछिल्लो समय विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले कोठा, रोजगारी, मानसिक स्वास्थ्यदेखि मृत्यु भएपछि शव नेपाल ल्याउनेसम्मका समस्या भोगिरहेको बताए।
‘अहिले चाहिँ अध्ययनका लागि जाने विद्यार्थीले धेरै समस्या भोगिरहेको अवस्था छ,’ शर्माले भने।
उनका अनुसार विगतमा विदेशमा रहेका नेपाली श्रमिकका समस्या प्रमुख भए पनि पछिल्लो समय विद्यार्थीका समस्या बढ्दै गएका छन्। विदेश पुगेपछि बसोवासका लागि कोठा खोज्ने, रोजगारी पाउने तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या विद्यार्थीले भोग्ने गरेको उनले बताए।
शर्माले एनआरएनएको ‘रिब्रान्डिङ’ अभियानअन्तर्गत विदेशमा रहेका सबै प्रकारका गैरआवासीय नेपालीलाई संस्थासँग जोड्ने लक्ष्य रहेको बताए। त्यसैअनुसार विदेश जाने विद्यार्थीलाई नेपालबाटै एनआरएनएसँग जोड्ने र उनीहरूका समस्या समाधानमा सहकार्य गर्ने उद्देश्यले इक्यानसँग समझदारी गरिएको उनको भनाइ छ।
विद्यार्थीलाई भविष्यका गैरआवासीय नेपालीका रूपमा समेत हेर्नुपर्ने भन्दै शर्माले उनीहरूलाई सुरुदेखि नै संस्थागत रूपमा जोड्ने अभियानमा एनआरएनए रहेको बताए।