बैतडी । पाटन नगरपालिका–१० हतासका मदनराज भट्टको परिवारका लागि फलफूल तथा तरकारी खेती आम्दानीको प्रमुख स्रोत बनेको छ । घरायसी प्रयोजनका लागि मात्रै तरकारी उत्पादन गर्दै आएका भट्टले एक दशकदेखि व्यावसायिक कृषि गर्दै आएका हुन् ।
उत्पादन राम्रो हुनुका साथै बजारको समेत समस्या नरहेपछि भट्ट परिवार नै कृषि व्यवसायमा पूर्ण रूपमा आबद्ध भएको छ । श्रीमती र दुई छोरासहित व्यावसायिक कृषि पेसामा लागेको बताउँदै भट्टले तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको बताए ।
भट्टले विसं २०७२ देखि व्यावसायिक रूपमा सुरु गरेको भेडे खुर्सानी खेती अहिले १६ रोपनी क्षेत्रफलमा विस्तार गरेका छन् । बजार विस्तार हुँदै गएपछि यसको व्यावसायिक उत्पादन बढाउँदै लगिएको उनको भनाइ छ ।
उचित मूल्य पाएको वर्ष भेडे खुर्सानीबाट मात्रै रु आठ लाखसम्म आम्दानी हुने गरेको भट्टले बताए । आधुनिक कृषि प्रविधि, मल्चिङ तथा विभिन्न कृषि उपकरणको प्रयोगले उत्पादन र आम्दानी दुवै बढेको उनको अनुभव छ । बीउबिजन, ढुवानीलगायत खर्च कटाएर भेडे खुर्सानीबाट मात्रै वार्षिक रु चार लाखसम्म बचत हुने गरेको उनले बताए ।
भट्ट परिवारले सञ्चालन गरेको मल्टी एग्रो फार्ममा करिब ४० रोपनी क्षेत्रफलमा विभिन्न प्रकारका तरकारी तथा फलफूल खेती भइरहेको छ । फार्ममा भेडे खुर्सानी, किवी, कागती र सुन्तलासँगै कुखुरा तथा बङ्गुरपालनसमेत गरिएको छ ।
पाँच रोपनीमा किवी खेती
भट्टका छोरा दीपकले विसं २०७६ देखि किवी खेती सुरु गरेका हुन् । प्राविधिक ज्ञान तथा बजारको चुनौती रहे पनि अहिले पाँच रोपनी क्षेत्रफलमा किवीका दुई सय बोट लगाइएको उनले बताए ।
“बजार र प्राविधिक ज्ञानको केही अभाव छ । युट्युब हेरेर पनि व्यवसाय सञ्चालन गर्दै आएका छौँ”, दीपकले भने, “सुरुमा कठिनाइ भए पनि अहिले किवी खेती विस्तार हुँदै गएको छ ।”
दैनिक १ हजार ६ सय अण्डा उत्पादन
दुई वर्षअघि दीपकले कुखुरापालन व्यवसायसमेत सुरु गरेका छन् । रु १० लाख लगानीमा आधुनिक खोर निर्माण गरी लेयर्स जातका दुई हजारभन्दा बढी कुखुरा पालिएको उनले जानकारी दिए ।
उनका अनुसार फार्मबाट दैनिक करिब एक हजार ६ सय अण्डा उत्पादन हुन्छ । उत्पादित अण्डा बैतडीसँगै बझाङ र दार्चुलाका विभिन्न बजारमा बिक्री हुने गरेको छ ।
बजारको अभाव नरहे पनि उत्पादन बजारसम्म पुर्याउँदा ढुवानी समस्या हुने गरेको परिवारको भनाइ छ । दाना, अण्डा, बीउबिजन तथा तरकारीलगायत सामग्री ओसारपसारमा कठिनाइ हुँदा व्यवसाय विस्तारमा समेत असर परेको दीपकले बताए ।
वार्षिक कारोबार एक करोडभन्दा बढी
भट्ट परिवारका अनुसार कृषि व्यवसायबाट वार्षिक रु एक करोडभन्दा बढीको कारोबार हुने गरेको छ । यद्यपि उत्पादन लागत, दाना, मल, औषधि, श्रम तथा ढुवानी खर्च कटाउँदा खुद नाफा तुलनात्मक रूपमा कम हुने गरेको छ । सबै खर्च कटाएर वार्षिक रु ३० लाखसम्म खुद नाफा हुने गरेको दीपकले बताए ।
गाउँमै मेहनत गर्न सके राम्रो आम्दानी गर्न सकिने उनको विश्वास छ । रोजगारीका लागि विदेश जाने युवालाई गाउँमै उपलब्ध अवसरको सदुपयोग गर्न उनले आग्रह गरे ।
“गाउँमा केही छैन भन्दै धेरै नेपाली रोजगारीका लागि विदेश जाने गरेका छन्”, दीपकले भने, “तर गाउँमै पनि थुप्रै अवसर छन् । यहीँ मेहनत गर्न सके विदेशको भन्दा राम्रो कमाइ गर्न सकिन्छ ।”
कृषि व्यवसायलाई थप विस्तार गर्ने योजनामा रहेको भट्ट परिवारले सडकको सहज पहुँच र बजार व्यवस्थापनमा स्थानीय सरकारको सहयोग आवश्यक रहेको जनाएको छ ।