काठमाडौं। नेकपा (एमाले) संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र विधिको शासन स्थापित गर्न सरकार असफल भएको टिप्पणी गरेकी छन्।
संघीय संसद् भवनबाहिर सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले पछिल्लो समय भएका जघन्य तथा अमानवीय घटनाले राज्यको उपस्थितिमाथि नै प्रश्न उठाएको बताइन्। तीन वर्षीया बालिकामाथिको बलात्कार तथा सिराहालगायत जिल्लामा भएका क्रूर घटनाप्रति उनले चिन्ता व्यक्त गरिन्।
निर्मला पन्त हत्याकाण्डको स्मरण गर्दै अर्यालले घटनामा राजनीतिकरण भएको र प्रमाण नष्ट गरिएका कारण दोषी अझै कानुनी दायरामा आउन नसकेको दाबी गरिन्। वर्तमान सरकार र गृह प्रशासनले विगतमा गरेका प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै उनले आलोचना गरिन्।
‘दिनप्रतिदिन यस्ता संवेदनशील र अमानवीय घटनाहरू बढिरहेका छन् । राज्यले नागरिकलाई सुरक्षाको अनुभूति दिन नसक्दा अपराधीहरूको मनोबल बढेको देखिन्छ,’ अर्यालले भनिन्।
यस्ता घटना रोक्न प्रचलित कानुनको पुनरावलोकन गर्नुपर्ने भन्दै उनले आवश्यकताअनुसार कानुन संशोधन वा नयाँ कानुन निर्माण गरी कडा कानुनी मापदण्ड तय गर्नुपर्ने बताइन्।
पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन र अपराधीको शीघ्र पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गर्दै अर्यालले गृह प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाइन्।