काठमाडौं । नेपालका सम्पूर्ण किसानको प्रतिनिधित्व गर्दै काठमाडौंको माइतीघरमा कुखुरापालक किसानहरूले आन्दोलन सुरु गरेका छन्। किसानहरूले उत्पादनका लागि आवश्यक चल्ला, दाना र औषधिमा गुणस्तर सुनिश्चित नभएको गुनासो गरेका छन्।
त्यस्तै, राज्यले दाना र चल्लाको मूल्य निर्धारण तथा नियमनमा प्रभावकारी हस्तक्षेप नगरेका कारण किसानहरू मारमा परेको उनीहरूको गुनासो छ। आन्दोलनका आयोजकमध्येका सन्तोष अधिकारीका अनुसार किसानको उत्पादन लागत घटाउन दाना तथा चल्लाको मूल्य र गुणस्तरमा राज्यको प्रभावकारी हस्तक्षेप आवश्यक छ।
उनका अनुसार दाना संघले दानाको मूल्य निर्धारण गर्ने र ह्याचरी उद्योगले चल्लाको मूल्य निर्धारण गर्ने अवस्था छ। तर कुखुराको हकमा भने बिचौलिया हाबी भएर मूल्य निर्धारण हुने गरेको उनको भनाइ छ।
यद्यपि, लेयर्स पालक किसानको हकमा भने धेरै किसान स्थापित व्यवसायी भइसकेका कारण उनीहरूकै लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य निर्धारण गर्दै आएको अधिकारी बताउँछन्।
किसानहरूले भारतीय कुखुराको तस्करी बन्द गर्नुपर्ने, बजारमा कुखुराको मूल्यको सुनिश्चितता हुनुपर्ने, दाना तथा चल्लाको गुणस्तर सुनिश्चित गर्नुपर्ने, दाना र चल्लाको मूल्य पारदर्शी हुनुपर्ने तथा बिचौलियाको जालो तोड्नुपर्ने माग राखेका छन्।
यी मागसहित कुखुरापालक किसानहरू आजदेखि आन्दोलनमा उत्रिएका छन्।