काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कारपछि हत्याका घटनासम्बन्धी विद्यमान कानुन संशोधन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै शाहीले कानुन संशोधनको मस्यौदा तयार गरी तत्काल संसद्मा ल्याउन आग्रह गरे। बलात्कारपछि हत्याका घटनालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सत्तापक्ष र प्रतिपक्ष नभनी कानुन संशोधन गरी संसद्बाट पारित गर्नुपर्ने उनको भनाइ थियो।
‘कानूनको ड्राफ्ट बनाएर ल्याउनुहोस् । हामी सत्तापक्ष र प्रतिपक्ष नभनिकन यसलाई संशोधन गरौँ र संसदबाट पास गरौँ,’ शाहीले भने।
फरक प्रसंगमा शाहीले विदेशी स्याउको आयातका कारण स्वदेशी स्याउले बजार पाउन नसकेको बताए। भदौ र असोजभर विदेशी स्याउको आयात रोक्न उनले कृषिमन्त्रीसँग आग्रह गरे।
जुम्लामा स्याउ उत्पादन बढाउन सरकारले लगानी गर्नुपर्नेमा पनि शाहीले जोड दिए।