काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विज्ञ टोलीले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान माग गरेका छन्। उनले प्रतिवेदनमा प्रस्तावित ‘हेरालो प्रणाली’ प्रभावकारी बनाउन पूर्वप्रहरी र पूर्वसैनिक परिचालन गर्नुपर्ने प्रस्तावसमेत गरेका छन्।
सोमबार कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै ढकालले बाँदर, बँदेल, हात्ती र नीलगाईलगायत वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढ्दै गएको भन्दै यसलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। वन्यजन्तुबाट हुने क्षति र न्यूनीकरणका उपाय समेटिएको विज्ञ टोलीको प्रतिवेदनलाई उनले ‘ऐतिहासिक’ भन्दै शीघ्र कार्यान्वयनमा जोड दिए।
पूर्वसुरक्षाकर्मीहरू तालिमप्राप्त हुने भएकाले उनीहरूलाई संगठित रूपमा परिचालन गर्दा हेरालो प्रणाली प्रभावकारी हुने ढकालको भनाइ छ। वन्यजन्तुको प्रतिकारका क्रममा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै उनीहरूलाई आवश्यक आत्मरक्षा सामग्री उपलब्ध गराउनुपर्ने उनले बताए।
गुल्मीमा हालै वन्यजन्तुको आक्रमणबाट दुई जनाको मृत्यु भएको घटना स्मरण गर्दै ढकालले मानव–वन्यजन्तु सहअस्तित्वको चर्चा भइरहे पनि मानिस नै असुरक्षित हुने अवस्था आएको बताए।
‘त्यसैले यो प्रतिवेदनलाई ढिलाइ नगरी भोलि नै सम्बन्धित मन्त्रीलाई बुझाएर बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्नुपर्छ,’ उनले भने।