काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन्।
नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको विवरणअनुसार आइतबारदेखि मध्यराति १२ बजेसम्म देशका विभिन्न स्थानमा भएका दुर्घटनामा उक्त जनधनको क्षति भएको हो।
प्रहरीका अनुसार उदयपुर, बारा, चितवन, पर्वत, गोर्खा, रुकुम पश्चिम र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको ज्यान गएको हो।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मुसिकोट खलंगाबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२००१ख १०७० नम्बरको फोर्स गाडीमा सवार गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवालीलाई सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको भे.१ज.१४८२ नम्बरको ईभी गाडीले ठक्कर दिएको थियो।
प्रहरीको विवरणअनुसार पछिल्लो २४ घण्टामा कोशी प्रदेशमा ३५, मधेशमा १८, काठमाडौं उपत्यकामा २६, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा ३२, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी कुल १२७ जना घाइते भएका छन्।
घाइतेहरूको स्वास्थ्य अवस्था तथा उपचारसम्बन्धी थप विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।
दुर्घटना र मृतकको विवरण
