काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिले विभिन्न संस्था डराएको भन्दै आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर नहोस् भन्नेतर्फ पार्टी र सरकार जिम्मेवार हुनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालामा बोल्दै लामिछानेले लोकतान्त्रिक संस्था कमजोर भए त्यसको असर लोकतन्त्रमा पर्ने बताए । आफ्नो क्रियाकलापबाट लोकतन्त्र कमजोर हुन नदिन नेता–कार्यकर्तालाई उनले सचेत गराए ।
‘जानेर वा नजानेर हामीले गरेका क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस् । यो हाम्रो पहिलो जिम्मेवारी हो,’ उनले भने ।
लोकतन्त्र एकैपटक ढल्ने संरचना नभएको भन्दै लामिछानेले शहीदहरूको बलिदान र राजनीतिक दलहरूको लामो संघर्षबाट लोकतान्त्रिक व्यवस्था बलियो बनेको बताए । पुराना राजनीतिक दलहरूले लोकतन्त्र बलियो बनाएर आफूहरूलाई जिम्मा लगाएको उल्लेख गर्दै उनले आफ्नो पुस्ताले लोकतन्त्र कमजोर पारेको इतिहास बन्न नदिने बताए ।
‘संस्थाहरू भत्किए भने लोकतन्त्र भत्किन्छ,’ उनले भने ।
विगतमा सुशासनका क्षेत्रमा कमजोरी भए पनि राजनीतिक रूपमा लोकतन्त्र बलियो रहेको उल्लेख गर्दै लामिछानेले त्यसलाई थप सुदृढ बनाउने जिम्मेवारी अहिलेको पुस्ताको रहेको बताए । लोकतन्त्र कमजोर पार्ने दिशामा आफूहरू नजाने उनको भनाइ थियो ।