काठमाडौँ। सगरमाथा आरोही मदन कुमार चुडाल ‘स्पेशल अवार्ड’बाट सम्मानित हुनुभएको छ। सगरमाथा आरोही सङ्घको रजत जयन्तीका अवसरमा आइतबार आयोजित विशेष समारोहमा चुडाललाई सो सम्मान प्रदान गरिएको हो।
नेपालको पर्वतीय पर्यटन प्रवर्द्धन, साहस र दिगो पर्यटनमा पुर्याउनुभएको अतुलनीय योगदान तथा सगरमाथाको सफल आरोहण गरी देशको नाम उच्चो राखेको कदरस्वरूप उहाँलाई यो पुरस्कार प्रदान गरिएको सङ्घले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खडकराज पौडेल (गणेश), मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, सङ्घकी अध्यक्ष माया शेर्पा, प्रथम उपाध्यक्ष दिवस पोखरेल र महासचिव शिवबहादुर सापकोटाद्वारा संयुक्त रूपमा हस्ताक्षरित कदर-पत्रसहित चुडाललाई सम्मानित गरिएको थियो।
समारोहमा बोल्दै वक्ताहरूले चुडालको साहसिक कदम र समर्पणले विश्वभरका युवाहरूलाई पर्वतारोहण र पर्यटन क्षेत्रमा लाग्न प्रेरणा मिलेको बताएका थिए।