काठमाडौं। जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आफ्ना माग तत्काल पूरा गर्न सरकारलाई अल्टिमेटम दिँदै माग सम्बोधन नभए फेरि सडक संघर्षमा उत्रिने चेतावनी दिएका छन्।
जेन–जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन–जी नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले विगतमा गरेका सहमति र दिएका आश्वासन कार्यान्वयन नगरेको आरोप लगाएका हुन्। उनीहरूले अब आश्वासनभन्दा ठोस निर्णय र त्यसको कार्यान्वयन खोजेको बताएका छन्।
जेन–जी शहीद श्रीयम चौलागाईंका पिता तथा जेन–जी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले गृहमन्त्री सुधन गुरुङले सरकार गठन भएको एक महिनाभित्र शहीद परिवार र घाइतेका माग सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको बताए। तर उक्त समयसीमा बितिसक्दा पनि ठोस प्रगति नभएको उनको भनाइ छ।
“हामीले १२ महिना हुँदा समेत सरकारले विश्वास लाग्ने काम पनि गरेन, कुरा पनि गरेन,” चौलागाईंले भने।
उनका अनुसार माग सम्बोधनका लागि सरकारले पटक–पटक समिति गठन गरे पनि ती समितिले प्रभावकारी रूपमा काम गर्न सकेका छैनन्। शहीद परिवार र घाइतेका प्रतिनिधिसहित मन्त्रालयका सहसचिव सम्मिलित समितिले टुंग्याएका विषय सरकारले अनिवार्य रूपमा कार्यान्वयन गर्ने सुनिश्चितता माग्दा मन्त्रालयका प्रतिनिधि पछि हटेको उनले आरोप लगाए।
चौलागाईंले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै समितिप्रति समेत विश्वास गर्ने अवस्था नरहेको बताए। उनका अनुसार शहीद परिवार र घाइतेले पटक–पटक आफ्ना माग राखे पनि सरकारले त्यसको ठोस जवाफ दिन सकेको छैन।
“अब त्यो समितिलाई विश्वास गरेर हिँड्दाखेरी हाम्रा मागहरू पूरा होलान् त?” उनले प्रश्न गरे।
घटना भएको एक वर्ष बितिसक्दा पनि आफूहरूका माग सम्बोधन नभएको भन्दै चौलागाईंले सरकारको उदासीनताले पीडित परिवार र घाइतेको धैर्यको सीमा नाघ्दै गएको बताए। अब पनि माग पूरा गर्न ठोस पहल नभए सडक संघर्षमा फर्किन बाध्य हुने उनले चेतावनी दिए।