म्याग्दी । एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका पर्यटन पूर्वाधारसम्बन्धी २४ योजनामध्ये १९ वटा सम्पन्न भएका छन् । ती योजनामार्फत जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रमा ४ दशमलव १९ किलोमिटर पदमार्ग निर्माण गरिएको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा २४ योजनाका लागि रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये रु एक करोड १० लाख बजेटका १९ योजना सम्पन्न भएका हुन् । बाँकी रु ३० लाख बजेटका पाँच योजना भने प्रतिकूल भूगोल, मौसमलगायत कारण कार्यान्वयन हुन नसकेको कार्यालय प्रमुख सम्झेर घर्ती क्षेत्रीले जानकारी दिए ।
सम्पन्न योजनाअन्तर्गत पर्यटकीय क्षेत्रमा पक्की तथा कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायतका संरचना निर्माण गरिएको छ । सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको क्षेत्रीले बताए ।
पूर्वाधार निर्माणपछि पर्यटक, स्थानीयवासी तथा पर्यटक मजदुरलाई आवतजावतमा सहज भएको कार्यालयले जनाएको छ । मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा ५२० मिटर पक्की पदमार्ग निर्माण गरिएको छ भने धार्मिकस्थल प्रभुचेलामा तीनकोठे आश्रयस्थल भवन निर्माण भएको छ ।
त्यस्तै, मालिका गाउँपालिका–४ मा गौखेरे–मतौका–चनौटे तथा वडा नम्बर ३ को लामखोरिया–डाडागाउँ जोड्ने पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिका–९ को ढाडापधेरा–आरोटा, पाखाथर, वडा नम्बर ८ को बराहपाखोलगायत क्षेत्रमा पदमार्ग निर्माण गरिएको छ । बेनी–१ स्थित सनातन धार्मिक आश्रम र वडा नम्बर २ को लभ्लीहिलमा घेराबारसमेत निर्माण गरिएको छ ।
मङ्गला गाउँपालिका–४ को गम्फाधुरी तथा धवलागिरी गाउँपालिका–४ को खिवाङ–चेचुङ क्षेत्रमा पनि पदमार्ग निर्माण भएको छ । रघुगङ्गा गाउँपालिका–३ गलेश्वर–बगैँचा, वडा नम्बर ५ र ६ को फुलडाँडामा पदमार्ग तथा वडा नम्बर ३ को गायत्री मन्दिरमा सत्तल निर्माण गरिएको छ ।
यसैगरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ झरना, वडा नम्बर ७ को टिकोट–सोबन्ध, वडा नम्बर १ को मारका, वडा नम्बर ६ को चित्रे हुँदै घान्द्रुक देउराली तथा वडा नम्बर ३ को फगाम–सुवा–दुवारी–मतिचौर जोड्ने पदमार्ग निर्माण गरिएको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ का लागि गण्डकी प्रदेश सरकारले म्याग्दीका पर्यटन पूर्वाधारतर्फ २४ योजनाका लागि रु एक करोड ८५ लाख बजेट विनियोजन गरेको छ । बजेट विनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तयार गर्ने तथा उपभोक्ता समिति गठन गर्ने काम सम्पन्न गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको कार्यालयका इञ्जिनियर सुमन बोगटीले जानकारी दिए ।