इन्धनको मूल्यवृद्धिलाई लिएर आयल निगम अगाडी प्रदर्शन (तस्विरहरु )
सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले आज बिहान रत्नराज्य क्याम्पस अगाडी प्रदर्शन गरेकोमा दिँउसो बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि पनि प्रदर्शनको गरेका छ ।
अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले दिउँसो १ बजे निगमको कार्यालय घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्रसमेत बुझाइएको जानकारी दिए ।
नेपाल आयल निगमले पछिल्लो पटक यही फागुन चार गते डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो ।
त्यसअघि गत माघ २८ गते पनि खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको थियो । खाना पकाउने ग्याससहित इन्धनमा गरिएको मूल्यवृद्धिले उपभोक्ता मर्कामा परेका छन् ।
प्रतिलिटर ५३ रूपैयाँ ९७ पैसामा किनेको पेट्रोलमा ५४ रूपैयाँ ९८ पैसा कर लगाएको छ। यसले आयल निगमले गर्दा इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट ५३ रूपैयाँ ९७ पैसामा किनेको पेट्रोलका लागि उपभोक्ताले एक सय १४ रूपैयाँ तिर्नुपर्छ।
निगमले सरकारलाई पेट्रोल लिटरमा ५४ रूपैयाँ ९८ पैसा राजस्व एवं मूल्य अभिवृद्धिकर बुझाउँछ। प्रतिलिटर ५५ रूपैयाँ १५ पैसामा खरिद गरेको डिजेलमा ३७ रूपैयाँ ६५ पैसा सरकारी राजस्व र मूल्य अभिवृद्धिकर छ। त्यसैगरी, ४८ रूपैयाँ ७६ पैसामा किनेको मट्टीतेलमा १९ रूपैयाँ ९७ पैसा, ५० रूपैयाँ २६ पैसामा किनेको हवाई इन्धनमा ११ रूपैयाँ २२ पैसा तथा ११ सय २९ रूपैयाँ ८१ पैसामा किनेको ग्यास सिलिन्डरमा दुई सय ३१ रूपैयाँ ५९ रूपैयाँ कर लगाइएको छ।
आम उपभोक्ताले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रयोग गर्ने पेट्रोलियम पदार्थ महँगो हुँदा त्यसको प्रभाव बजारमा पर्छ। भारतमा पेट्रोलियम पदार्थमा धेरै कर लिए पनि त्यहाँको सरकारले नागरिकलाई विभिन्न प्रकारका प्याकेज ल्याएर राहत दिन्छ।