बागलुङ। ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षाकोठा अभावको समस्या हटेको छ । गोर्खा वेलफेयर ट्रस्ट नेपालले रु दुई करोड ६८ लाखको लागतमा १२ नयाँ कक्षाकोठा र आठवटा शौचालय निर्माण गरिदिएपछि विद्यालयको भौतिक पूर्वाधारमा सुधार भएको हो ।
ट्रस्टले आठ महिनामै सुविधा सम्पन्न भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको प्रधानाध्यापक थमप्रकाश जैसीले जानकारी दिनुभयो । नयाँ भवन बनेसँगै कक्षाकोठा अभावका कारण समस्या झेल्दै आएको विद्यालयमा पठनपाठन सहज भएको उहाँले बताए ।
दुर्गम क्षेत्रमा रहेको विद्यालयमा हाल ४३१ विद्यार्थी अध्ययनरत छन् । यसअघि पर्याप्त कक्षाकोठा नहुँदा एउटै कोठामा ६० जनासम्म विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता थियो । विद्यार्थीको चाप बढेपछि कक्षा ५, ७ र ८ लाई दुई–दुई समूहमा विभाजन गरेर अध्यापन गराउने गरिएको थियो ।
कक्षाकोठा अभावकै कारण ट्रसको छाप्रोदेखि पक्की भवनको भ¥याङमुनिसम्म कक्षा सञ्चालन गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक जैसीले बताए ।
“बालविकासदेखि कक्षा १० सम्मका लागि ११ वटा कोठा आवश्यक थियो । तीनवटा कक्षामा विद्यार्थी धेरै भएपछि दुई समूहमा विभाजन गरेर ट्रसको छाप्रो र पक्की भवनको भ¥याङमुनिसमेत पढाउने गरेका थियौँ,” उहाँले भन्नुभयो, “अहिले १२ नयाँ कक्षाकोठा र शौचालय थपिएपछि प्रयोगशाला, पुस्तकालयलगायतका लागि पनि पर्याप्त स्थान भएको छ ।”
नयाँ भवन निर्माणमा लागेको कुल लागतमा स्थानीयवासीको १० प्रतिशत श्रमदानसमेत समावेश रहेको विद्यालयले जनाएको छ ।