जनकपुरधाम । जनकपुरधाममा सार्वजनिक पोखरी अतिक्रमण हटाउने अभियानअन्तर्गत पहिलो दिन सातवटा पोखरी अतिक्रमणमुक्त गरिएको छ ।
शनिबार डोजर प्रयोग गरी गिरनारी (गोरधोइ) पोखरी, दिर्घीका सर, मुरली सर, रत्नसागर, अर्गजा सर, दशरथ तलाउ र विसहरा तलाउको अतिक्रमण हटाइएको हो ।
गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार ती पोखरी क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका ६५ वटा घरटहरा भत्काइएको छ ।
अतिक्रमित संरचना हटाउने क्रममा ठूलो संख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो । समितिले यसअघि नै साउन १ गते सूचना जारी गर्दै अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।
पोखरेलका अनुसार अब अर्को चरणमा अतिक्रमणमुक्त गरिने पोखरीको रेखांकन गरिनेछ । रेखांकनपछि योजना बनाएर क्रमशः अतिक्रमण हटाइने उनले बताए ।
समितिले पहिलो चरणमा पहिचान भएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त गर्ने लक्ष्य लिएको छ । कार्ययोजनाअनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य गुठी जग्गाबाट अतिक्रमण हटाइनेछ ।
जनकपुरका गुठी जग्गामा भएको अतिक्रमण पहिचान गर्न २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनलाई आधार बनाएर अहिले अतिक्रमण हटाउने काम अघि बढाइएको समितिले जनाएको छ ।