पोखरा। प्रधानमन्त्री बालेन्द्र साह (बालेन) शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्ताम पुगेपछि स्थानीयले वर्षौंदेखिका आधारभूत समस्या समाधानको अपेक्षा व्यक्त गरेका छन्। उनीहरूले खानेपानी, सिँचाइ र सडकसँगै महिला तथा बालबालिकामाथि हुने हिंसा र जघन्य अपराधमा कडा कारबाहीको माग गरेका छन्।
प्रधानमन्त्री अस्तामस्थित ‘अन्नपूर्ण इको भिलेज’मा बस्ने जानकारी पाएपछि बिहानैदेखि स्थानीयमा चासो बढेको थियो। सुरक्षाकर्मीको आवागमन बाक्लिएपछि प्रधानमन्त्री गाउँमा आउने थाहा पाएका स्थानीय सडक छेउ र घरआँगनमा भेला भएका थिए।
स्थानीय ज्ञानु अधिकारीले नयाँ नेतृत्वबाट गाउँ र देशका समस्या समाधान हुने आशा रहेको बताइन्। ‘पुरानालाई अब फालियो, नयाँहरूले राम्रो गर्नुहुन्छ कि भन्ने आशा छ,’ उनले भनिन्। अपराध गर्नेलाई कडा कानुनी कारबाही हुने व्यवस्था गर्नुपर्ने उनको माग छ।
अस्तामका स्थानीयका अनुसार गाउँको प्रमुख समस्या खानेपानी र सिँचाइ हो। अधिकांश बासिन्दा कृषिमा निर्भर भए पनि पानीको अभावमा व्यावसायिक तरकारी खेती विस्तार गर्न नसकेको स्थानीय तथा प्राध्यापक नन्दलाल अधिकारीले बताए।
‘पोखराको नजिकै भएर पनि सिँचाइ अभावमा तरकारी खेती विस्तार गर्न सकेका छैनौँ,’ उनले भने, ‘सरकारले व्यवस्थित खानेपानी र सिँचाइ योजना ल्याइदिए कृषकले उत्पादन गरेको तरकारी यहीँका होटल र पोखरा बजारमा बेचेर आत्मनिर्भर बन्न सक्छन्।’
पोखराबाट नजिकै भए पनि अस्ताम पुग्ने सडकको अवस्था कमजोर रहेको स्थानीयको गुनासो छ। स्थानीय रामप्रसाद अधिकारीले सडक र खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे। ‘अप्ठ्यारो बाटोले गर्दा बिरामी पर्दा अस्पताल पुर्याउनसमेत गाह्रो छ,’ उनले भने।
स्थानीय शोभाखर अधिकारीले प्रधानमन्त्री पहिलोपटक गाउँमा आएको भन्दै सडक स्तरोन्नति र खानेपानीको व्यवस्था गरिदिन आग्रह गरे। ‘उहाँले हाम्रो बाटो र पानीको समस्या बुझेर काम गरिदिए हामी सधैँ आभारी रहनेछौँ,’ उनले भने।
स्थानीयले विकाससँगै सुशासन र न्यायको विषयसमेत उठाएका छन्। महिला तथा बालबालिकामाथि हुने हिंसा, बलात्कार र हत्याजस्ता अपराधमा दोषीलाई कडा कारबाही हुनुपर्ने उनीहरूको माग छ।
‘देशमा साना नानीहरूको बलात्कार र हत्या जस्ता जघन्य अपराध गर्नेहरूलाई जेलमा मात्र थुनेर पुग्दैन, विदेशमा जस्तै कठोरभन्दा कठोर सजाय दिने कानुन बनोस्,’ ज्ञानुले भनिन्।
प्राकृतिक सौन्दर्यका कारण अस्ताम पर्यटकीय सम्भावना बोकेको गाउँ हो। यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र धौलागिरी हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। स्थानीयका अनुसार सडक, खानेपानी, सिँचाइ र पर्यटन पूर्वाधारमा सुधार गर्न सके कृषि र पर्यटनबाट गाउँको आर्थिक गतिविधि बढाउन सकिन्छ।
प्रधानमन्त्रीको भ्रमणले स्थानीयमा आफ्ना समस्या राज्यको उच्च तहसम्म पुग्ने आशा जगाएको छ। उनीहरूको अपेक्षा भने स्पष्ट छ — गाउँमा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्।