काठमाडौं । बाह्रखरी मिडियाले ‘बाह्रखरी कथा प्रतियोगिता’को आठौँ संस्करण घोषणा गर्दै कथा आह्वान गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको घोषणा गरिएको हो ।
प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा रहेका नेपालीले नेपाली भाषामा कथा पठाउन सक्नेछन् । कथा असोज ३ गतेभित्र पठाइसक्नुपर्ने बाह्रखरी डिजिटल न्युजका कार्यकारी सम्पादक बलराम पाण्डेले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुने कथा नेपाली भाषामा लेखिएको, अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । यसअघि प्रतियोगितामा पठाइएको कथा पुनः पठाउन पाइने छैन । नतिजा सार्वजनिक नहुँदासम्म सहभागीले पठाएको कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण गर्नसमेत पाइने छैन । प्रतियोगितामा सहभागी कथा अन्यत्र प्रकाशित वा प्रसारित भएको पाइए पुरस्कार निलम्बन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम हुने कथाकारले दुई लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट २५ मा परेका बाँकी २२ कथाकारलाई कथा लेखनबापत जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगितामा पठाइने कथा न्यूनतम १ हजार ५ सयदेखि अधिकतम ४ हजार शब्दसम्मको हुनुपर्नेछ । कथा वर्ड फाइलमा पठाउनुपर्नेछ भने सहभागीले आफ्नो संक्षिप्त परिचय, सम्पर्क नम्बर र हालसालै खिचिएको फोटोसमेत पठाउनुपर्नेछ ।
प्राप्त कथामध्ये आन्तरिक निर्णायक समूहले ५० कथा छनोट गर्नेछ । त्यसपछि कथाकारको नाम र कथाको शीर्षक गोप्य राखेर ती कथा बाह्य निर्णायक समूहलाई पठाइनेछ । बाह्य निर्णायकले ५० कथामध्येबाट २५ उत्कृष्ट कथा छनोट गर्ने पाण्डेले बताए ।
निर्णायकलाई कथा पठाउने लेखकको पहिचान जानकारी नहुने आयोजकले जनाएको छ । मूल्यांकनपछि कोडिङ–डिकोडिङ प्रक्रियाबाट उत्कृष्ट २५ कथाकारको नाम सार्वजनिक गरिनेछ । उत्कृष्ट २५ कथा समेटेर पुस्तकसमेत प्रकाशन गरिनेछ ।
यस वर्षको निर्णायक समूहमा अग्रज कथाकार भुवन ढुंगानाको संयोजकत्वमा डा. ज्ञानु अधिकारी र खगेन्द्र लामिछाने सदस्य छन् । प्रतियोगिताको टाइटल स्पोन्सर डिगो रहेको छ । अघिल्लो संस्करणमा करिब १ हजार २ सय कथा प्राप्त भएको आयोजकले जनाएको छ ।