काठमाडौं। पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिताको उपाधि न्यु होराइजन माइग्रेसन एन्ड एजुकेसन प्रालिले जितेको छ।
काठमाडौंको बुढानीलकण्ठस्थित कपअन स्पोर्ट्स सेन्टरमा आइतबार भएको प्रतियोगिताको फाइनलमा न्यु होराइजनले तिरुपाती एचआर सोलुसन प्रालिमाथि ६–० को सहज जित निकाल्दै उपाधि हात पारेको हो।
न्यु होराइजनका सुदीप लिम्बूले ह्याट्रिक पूरा गरे। टीका मगर र अनमोल राईले एक–एक गोल थपेपछि न्यु होराइजनले सहज जित निकाल्यो।
युकिगुनी एजुकेसनल कन्सल्टेन्सीले तेस्रो स्थान हासिल गर्न सफल भयो। तेस्रो स्थानका लागि भएको खेलमा युकिगुनीले लोमस अब्रोड स्टडी प्रालिलाई ६–० ले हराएको थियो।
एकदिने प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्यु होराइजनले युकिगुनीलाई ६–३ ले पराजित गरेको थियो। दोस्रो सेमिफाइनलमा तिरुपातीले लोमस एजुकेसनललाई ४–२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर न्यु होराइजनका अनमोल राई घोषित भए भने उत्कृष्ट खेलाडीको ट्रफी तिरुपातीका निखिल ढुङ्गानाले प्राप्त गरे। दुवैलाई जापानिज एजुकेसन ग्रुपका संयोजक रूपसिंह तामाङले ट्रफी हस्तान्तरण गरे।
विजेता न्यु होराइजनले एक लाख रुपैयाँ र उपविजेता तिरुपाती एचआरले ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। तेस्रो स्थान हासिल गरेको युकिगुनीले ५० हजार रुपैयाँ प्राप्त गर्यो।
सो अवसरमा जापानिज एजुकेसन ग्रुपका संयोजक रूपसिंह तामाङले आगामी दिनमा पनि आफ्नो संस्थाले खेलकुदका विभिन्न प्रतियोगिता तथा प्रोत्साहन कार्यक्रम आयोजना गर्दै स्वस्थ र अनुशासित नागरिक निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
उक्त प्रतियोगितामा कुल १० टोलीले प्रतिस्पर्धा गरेका थिए। लिग कम नकआउट प्रणालीमा भएको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो।
एकदिने प्रतियोगिताको उद्घाटन नेपाली तेक्वान्दो ओलम्पियन तथा दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी चार स्वर्ण पदक विजेता दीपक विष्टले गरेका थिए।