काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागप्रति सरकारले बेवास्ता गरेको आरोप लगाउँदै सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ।
सङ्घका अनुसार म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि पूर्ण रूपमा रोकिँदैछ। यसअघि चरणबद्ध आन्दोलनअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोक्दै आएको सङ्घले जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानमा पठाउन दिएको समयसीमा सकिएसँगै पूर्ण रूपमा काम–कारोबार बन्द गर्न लागेको हो।
सङ्घका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतका अनुसार प्रक्रिया पूरा भइसकेका श्रमिकलाई उडानमा पठाउन आइतबार राति १२ बजेसम्मको समय दिइएको थियो। सो समयसीमाभित्र प्रक्रिया पूरा भएका श्रमिकको उडान गरिए पनि त्यसपछि भने सबै प्रकारका उडान रोक्ने निर्णय भएको उनले बताए।
श्रम मन्त्रालयको टोलीसँग शुक्रबार भएको प्रारम्भिक छलफलमा व्यवसायीका मागबारे ठोस सहमति हुन नसकेको सङ्घले जनाएको छ। मन्त्रालयका अधिकारीसँग छलफल भए पनि मन्त्रिस्तरीय वार्ता नभएको र सरकारले व्यवसायीका समस्यालाई प्राथमिकतामा नराखेको सङ्घको आरोप छ।
सङ्घका अनुसार सोमबारदेखि काठमाडौँस्थित मुख्य कार्यालय तथा देशभरका शाखा कार्यालय बन्द रहनेछन्। त्यस्तै, नयाँ विज्ञापन, अन्तर्वार्ता, सम्पूर्ण रिक्रुटिङ प्रक्रिया, पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी र प्रशासनिक काम–कारोबारसमेत पूर्ण रूपमा ठप्प हुनेछन्।
सङ्घका महासचिव हीराबहादुर डाँगीद्वारा जारी विज्ञप्तिमा आन्दोलनलाई व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार तथा दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियानका रूपमा उल्लेख गरिएको छ। विज्ञप्तिमा मागहरूको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता वा स्थगित नगर्ने स्पष्ट पारिएको छ।
सङ्घले सरकारसँग वार्ताका लागि ढोका खुला रहेको जनाएको छ। तर, सरकारले ठोस कदम नचालेसम्म काममा नफर्कने अडान लिएको छ। साथै, सदस्य संस्थाहरूलाई लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्न निर्देशन दिइएको छ।
सङ्घको निर्णय अवज्ञा गर्दै काम सञ्चालन गर्ने संस्थालाई भविष्यमा सङ्घबाट प्राप्त हुने सहयोग तथा संरक्षणबाट वञ्चित गर्ने चेतावनीसमेत दिइएको छ। त्यस्ता संस्थामाथि आगामी समीक्षा भेलामार्फत आवश्यक कारबाही अघि बढाउने सङ्घले जनाएको छ।