काठमाडौं। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को पिपल्स च्वाइस विधामा पाँच खेलाडी मनोनयनमा परेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २३औँ संस्करणको पिपल्स च्वाइसका मनोनयन सार्वजनिक गरेको हो।
मनोनयनमा भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आर्ट्स (एमएमए) का रवीन्द्र ढाँट छन्। मञ्चका सचिव अनिल मल्ल ठकुरीसहित पाँच सदस्यीय खेलाडी छनोट समितिले उनीहरूको छनोट गरेको हो। एनएसजेएफले २०५२ सालदेखि स्पोर्ट्स अवार्ड आयोजना गर्दै आएको छ।
मीना काभा महिला च्याम्पियनसिपमा प्रभावशाली प्रदर्शन गरेकी शक्तिशाली स्पाइकर हुन्। उनले काभा महिला क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबलाई तेस्रो स्थान दिलाउन पनि योगदान गरेकी थिइन्। पूजाले एसियन कप छनोटसँगै विदेशका व्यावसायिक लिगमा समेत प्रभाव छाडेकी छन्। उनी भुटानको ट्रान्सफर युनाइटेड तथा बंगलादेशका फरासगन्ज एफसी र नासरिन स्पोर्ट्स एकेडेमीबाट खेलिसकेकी छन्।
सानुमायाले अन्तर्राष्ट्रिय करातेमा निरन्तर सफलता हासिल गर्दै आएकी छन्। उनी दक्षिण एसियाली कराते च्याम्पियनसिपमा टिम कातामा स्वर्ण र एकल कातामा रजत विजेता हुन्। इजिप्टमा भएको विश्व कराते च्याम्पियनसिपमा एकल कातामा प्रतिस्पर्धा गरेकी उनले २१औँ एसियन कराते च्याम्पियनसिपमा पनि सहभागिता जनाएकी थिइन्।
शेरले आईसीसी टी-२० विश्वकपको डेब्यु खेलमै पहिलो बलमा विकेट लिएका थिए। मलेसियामा भएको एसियन गेम्स क्वालिफायरमा उनले हङकङविरुद्ध चार तथा मलेसियाविरुद्ध तीन विकेट लिए। ‘बझाङका बाघ’का रूपमा परिचित रवीन्द्र रोड टु यूएफसीको सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर हुन्।
यसैबीच, पिपल्स च्वाइस अवार्डका लागि एनएसजेएफ र खल्ती बाइ आईएमईबीच भोटिङ पार्टनर सम्झौता भएको छ। सम्झौतामा खल्ती बाइ आईएमईकी म्यानेजर पूजा धामी र एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले हस्ताक्षर गरे। पिपल्स च्वाइसको मतदान खल्तीमार्फत हुनेछ।