काठमाडौं । फ्रान्सको पेरिसमा जारी ईस्पोर्ट्स विश्वकपअन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्सले आठौँ स्थान हासिल गरेको छ।
ग्रान्ड फिनालेको अन्तिम दिन ‘स्म्याश रुल’ लागू भएपछि उपाधि तथा शीर्ष स्थानका लागि अन्तिम खेलसम्म प्रतिस्पर्धा भएको थियो। होराले १८ खेलबाट कुल १०९ अंक जोड्दै आठौँ स्थानमा प्रतियोगिता सकाएको हो।
आठौँ स्थानसँगै होराले कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ। यसअघि समूह चरणमा ५७ हजार ५०० डलर सुनिश्चित गरेको होराले ग्रान्ड फिनालेमा थप ७० हजार डलर जितेको हो। उक्त रकम आजको विनिमय दरअनुसार करिब १ करोड ९४ लाख ३१ हजार नेपाली रुपैयाँ बराबर हुन्छ।
फाइनलको पहिलो दिन होराले चार खेलबाट १९ अंक जोडेको थियो। दोस्रो दिन आठ खेलमा ३९ अंक थप्दै उसको कुल स्कोर ५८ अंक पुगेको थियो। दोस्रो दिनको समाप्तिसम्म होरा ११औँ स्थानमा थियो।
फाइनलको तेस्रो तथा अन्तिम दिन भने होराले उत्कृष्ट पुनरागमन गर्यो। पहिलो खेलमा अंकविहीन भए पनि दोस्रो र तेस्रो खेलमा क्रमशः २१ र १४ अंक जोड्यो। चौथो खेलमा एक अंक मात्रै जोडेको होराले पाँचौँ खेलमा पनि एक अंकमै चित्त बुझाउनुपर्यो। अन्तिम खेलमा भने ११ अंक जोड्दै कुल १०९ अंक पुर्यायो।
पहिलो दिन होराले पहिलो खेलमा ६, दोस्रो खेलमा १० र तेस्रो खेलमा ३ अंक जोडेको थियो भने चौथो खेलमा अंक जोड्न सकेन। दोस्रो खेलमा उसले ५ किल र ५ प्लेसमेन्ट अंक प्राप्त गरेको थियो।
दोस्रो दिनको सुरुआत पनि होराका लागि राम्रो रह्यो। पहिलो खेलमा ५ किल र २ प्लेसमेन्ट अंकसहित ७ तथा दोस्रो खेलमा ८ किल र ७ प्लेसमेन्ट अंकसहित १५ अंक जोड्यो। तेस्रो खेलमा ६ अंक जोडेको होराले चौथो खेलमा खाता खोल्न सकेन। पाँचौँ र छैटौँ खेलमा एक–एक तथा सातौँ खेलमा तीन अंक जोडेको होराले आठौँ खेलमा ६ अंक थपेको थियो।
होराले समूह चरणबाटै सोझै ग्रान्ड फिनालेमा स्थान बनाएको थियो। समूह ‘बी’ का १६ टोलीबीच भएको प्रतिस्पर्धामा होरा शीर्ष पाँचभित्र पर्दै फाइनलमा पुगेको हो। समूह चरणमा एक चिकेन डिनरसहित कुल ९८ अंक जोडेको होरा चौथो स्थानमा रहेको थियो।
समूह चरणमा चौथो भएपछि होराले ५७ हजार ५०० अमेरिकी डलर पुरस्कार पनि सुनिश्चित गरेको थियो।
ग्रान्ड फिनालेको उपाधि भने टर्कीको एसटुजी ईस्पोर्ट्सले जितेको छ। च्याम्पियन बनेसँगै उसले ५ लाख अमेरिकी डलर पुरस्कार पाएको छ। उपविजेताले २ लाख ५० हजार तथा तेस्रो हुने टोलीले १ लाख ५० हजार डलर प्राप्त गरेका छन्।
प्रतियोगितामा चौथो स्थानको टोलीले १ लाख २० हजार, पाँचौँले १ लाख, छैटौँले ९० हजार, सातौँले ८० हजार र आठौँ स्थानको होराले ७० हजार डलर पाएको हो। नवौँदेखि १६औँ स्थानसम्मका टोलीले क्रमशः ६० हजार, ५५ हजार, ५० हजार, ४५ हजार, ४० हजार, ३५ हजार, ३० हजार र २५ हजार डलर प्राप्त गरेका छन्।
यसअघि गत संस्करणको पब्जी मोबाइल विश्वकपमा पनि होरा नवौँ स्थानमा रहेको थियो। त्यतिबेला टोलीले १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको थियो।