काठमाडौँ । नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानसेनापति जनरल धीरज सेठले मंगलबार प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन शाहसँग भेटवार्ता गर्ने भएका छन्।
नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक सिग्देलको निमन्त्रणामा जनरल सेठ आइतबार नेपालको औपचारिक भ्रमणमा आउँदैछन्। भ्रमणका क्रममा उनले प्रधानमन्त्री शाहसँगै प्रधानसेनापति सिग्देल तथा नेपाली सेनाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानसेनापतिमा नियुक्त भएपछि सेठको यो पहिलो विदेश भ्रमण हो। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबीच उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।
भारतको प्रधानसेनापतिको जिम्मेवारी जनरल सेठले ३० जुन २०२६ मा सम्हालेका थिए। नेपाल र भारतका सेना प्रमुखलाई एक–अर्काको देशमा मानार्थ महारथीको दर्जा दिने परम्परा रहिआएको छ।
यसअघि सन् २०२४ डिसेम्बरमा नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय सेनाको मानार्थ जनरलको दर्जा प्रदान गरेकी थिइन्।