पोखरा। बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटी क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ।
कास्की प्रहरीका अनुसार मोदी खोलामा आएको बाढीले वीरेठाँटीबाट पर्यटकीय क्षेत्र घान्द्रुक जाने सडकका विभिन्न खण्ड बगाएको छ। वीरेठाँटीनजिकै करिब १०० मिटर सडक कटानमा परेपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। सडकको जगसमेत बगाएकाले पैदल आवतजावतसमेत बन्द भएको प्रहरीले जनाएको छ।
बाढीले कास्की–पर्वत सीमामा पर्ने मोदी खोलाको एउटा पुल र मन्दिरसमेत बगाएको छ। खोलाको बहाव बढेपछि तीन जना व्यक्ति सो क्षेत्रमा अड्किएका छन्। उनीहरूको उद्धारका लागि पहल भइरहेको प्रहरीले बताएको छ।
अविरल वर्षाका कारण मोदी खोलाको सतह अझै बढिरहेको प्रहरीले जनाएको छ। सडक सञ्जाल विच्छेद हुँदा वीरेठाँटीसहित आसपासका क्षेत्रको जनजीवन प्रभावित भएको छ।
सुरक्षा निकायले बाढी प्रभावित क्षेत्रमा नजान र सम्भावित जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।