बागलुङ । अविरल वर्षाका कारण बाढी तथा पहिरो आएपछि बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार बिहानैदेखि अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको हो ।
गएरातिदेखि परेको लगातारको वर्षाका कारण बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिवाङ–निसीखोला सडकखण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आएपछि सडक अवरुद्ध भएको प्रहरीका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
अवरुद्ध दुवै सडक खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना र कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन् ।