काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले काठमाडौंमा ‘लोकल कन्फरेन्स अफ युथ (एलसिओवाई)’ आयोजना हुने भएको छ।
साउन २९ देखि तीन दिन चल्ने सम्मेलनमा सातवटै प्रदेशबाट १ सय ८० भन्दा बढी युवा सहभागी हुने आयोजकले जनाएको छ। सहभागीमध्ये कम्तीमा ५० प्रतिशत महिला तथा लैंगिक विविधता भएका युवाको सहभागिता सुनिश्चित गरिनेछ।
‘जलवायु पारदर्शिताका लागि एकजुट’ भन्ने नाराका साथ हुने सम्मेलनमा जलवायु परिवर्तनका कारण युवाले भोगेका समस्या, स्थानीय अभ्यास र सिकाइबारे छलफल हुनेछ। त्यसबाट प्राप्त सुझाव समेटेर ‘राष्ट्रिय बालबालिका तथा युवा जलवायु परिवर्तनसम्बन्धी वक्तव्य’ तयार गरिनेछ।
आयोजक नेप्लिज युथ फर क्लाइमेट एक्सन (एनवाईसीए) की राष्ट्रिय संयोजक आकृति डोटेलका अनुसार सम्मेलनको उद्देश्य युवालाई कार्यक्रममा सहभागी गराउनुमा मात्र सीमित छैन। उनीहरूका अनुभव र सवाललाई नीति निर्माण तथा कार्यान्वयनसँग जोड्ने गरी कार्यक्रम तयार गरिएको छ।
‘युवाको सहभागिता भनेको कार्यक्रममा आउने, सुन्ने र जाने मात्रै होइन,’ डोटेलले भनिन्, ‘उनीहरूको आवाज सुनिन्छ।’
सम्मेलनबाट तयार हुने सुझावलाई सम्बन्धित मन्त्रालयमार्फत राष्ट्रिय नीतिमा समेट्न पहल गरिने उनले बताइन्। सरकारले जलवायु परिवर्तन नीति, २०१९ को समीक्षा गरिरहेका बेला युवाका तर्फबाट सुझाव प्रस्तुत गर्ने र त्यसको कार्यान्वयनको अवस्थासमेत पछ्याउने तयारी रहेको उनको भनाइ छ।
स्थानीय तहमा जलवायुका क्षेत्रमा काम गरिरहेका युवाका अनुभव र समुदायस्तरका कथालाई समेत सम्मेलनको नीतिगत छलफलमा जोडिनेछ। स्थानीय तथा राष्ट्रिय मुद्दालाई क्षेत्रीय र अन्तर्राष्ट्रिय जलवायु प्रक्रियासम्म पुर्याउने आयोजकको योजना छ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) को आधिकारिक बालबालिका तथा युवा समूह (युंगो) को प्रक्रियाअन्तर्गत सम्मेलन आयोजना हुन लागेको डोटेलले बताइन्।
सम्मेलनमा युवा तथा बालबालिकाको सहभागिता, हानि तथा क्षति, जलवायु वित्त, न्यायोचित संक्रमण, परिवर्तनशील हिमाल तथा जीविकोपार्जन, जलवायु उत्थानशील शिक्षा, कृषि तथा खाद्य सुरक्षा, खानेपानी तथा जल सुरक्षा, लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरणलगायत विषयमा छलफल हुनेछ।
आयोजक युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपालकी दीक्षा सुवेदीका अनुसार सम्मेलनअघि नौवटा विषयगत अनलाइन सत्र सञ्चालन गरी युवालाई विज्ञ तथा सरोकारवालासँग छलफल गराइएको थियो। करिब एक हजार आवेदकमध्ये अनलाइन तयारीका कार्यक्रममा कम्तीमा ८० प्रतिशत सहभागिता जनाएका र जलवायु क्षेत्रमा सक्रिय युवालाई सम्मेलनका लागि छनोट गरिएको उनले बताइन्।
‘काठमाडौंमा बसेको भन्दैमा उसको आवाज काठमाडौंको मात्रै हुँदैन। ऊ जुन प्रदेश र समुदायबाट आएको हो, त्यहाँका अनुभव र सवाल पनि उसँगै आएका हुन्छन्,’ सुवेदीले भनिन्।
सम्मेलनमा चिकित्सा, इन्जिनियरिङ, सामाजिक विज्ञान, मानविकी, नर्सिङ र सार्वजनिक स्वास्थ्यलगायत क्षेत्रका युवा सहभागी हुनेछन्। आठ वर्षभन्दा माथिका बालबालिकालाई समेत सहभागी गराइने आयोजकले जनाएको छ। विद्यालयका इको क्लबमा आबद्ध बालबालिकालाई जलवायु नेतृत्व, नीति र निर्णय प्रक्रियाबारे प्रारम्भिक जानकारी दिने उद्देश्य रहेको सुवेदीले बताइन्।
सम्मेलनबाट तयार हुने राष्ट्रिय युवा वक्तव्यलाई क्षेत्रीय युवा सम्मेलन हुँदै विश्वव्यापी युवा जलवायु प्रक्रियामार्फत संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको प्रक्रियासम्म पुर्याइने आयोजकले जनाएको छ।