म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा मंगलबार बिहान पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।
पहिरोमा परी विद्युत्गृहमा कार्यरत अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका हुन्। सोही घटनामा गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार पहिरोमा बेपत्ता बरुवालको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको टोली परिचालन गरिएको छ। घाइते विकलाई घटनास्थलबाट उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको छ।
विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा विद्युत्गृह पुरिएको हो। पहिरोले आयोजनाका उपकरणमा समेत क्षति पुर्याएपछि १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ।