काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले खोलानदीबाट गिट्टी, बालुवा अवैध रूपमा उत्खनन तथा तस्करी भइरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद तामाङले राज्यलाई करसमेत नतिरी रातारात ठूलो परिमाणमा गिट्टी–बालुवा तस्करी हुने गरेको बताइन्।
उनका अनुसार बर्खायाममा कानुन र विद्यमान मापदण्डले खोलाबाट गिट्टी तथा बालुवा निकाल्न निषेध गरेको अवस्थामा पनि तस्करी नरोकिएको हो। उनले धादिङसहित देशका अधिकांश नदी तथा खोलामा यो समस्या जटिल बन्दै गएको बताइन्।
‘बर्खे महिनामा कानुन र नियमअनुसार खोलाबाट गिट्टी र बालुवा निकाल्न निषेधित छ। तर तस्करहरूले एकै रातमा लाखौँ, करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरी तस्करी गर्छन्,’ उनले भनिन्।
सांसद तामाङले समस्या केवल तस्करीमा मात्र नभई कानुनी व्यवस्था र प्रक्रियामै समेत रहेको जिकिर गरिन्। उनले ढुंगा, गिट्टी र बालुवा उत्खनन नै रोक्नुपर्ने आफ्नो धारणा नभएको स्पष्ट पार्दै यसको व्यवस्थित व्यवस्थापनका लागि कानुन संशोधन आवश्यक रहेको बताइन्।
‘मेरो मनसाय ढुंगा, गिट्टी र बालुवा निकाल्न हुँदैन भन्नेमा पटक्कै होइन। तर यसको सही व्यवस्थापनमा कानुन बाधक बन्नु हुँदैन,’ उनले भनिन्।
उनले वर्तमान अवस्थाअनुसार आवश्यक कानुनी तथा मापदण्डगत संशोधन गरी गिट्टी–बालुवा उत्खनन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारसँग आग्रह गरिन्।