काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सडकमा सिठी फुकेर मात्र ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरण सम्भव नभएको बताएका छन्। प्रभावकारी सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि प्रविधिमैत्री ‘फेसलेस ट्राफिक’ प्रणाली, सुरक्षित पूर्वाधार र ट्राफिक शिक्षामा जोड दिनुपर्ने उनको भनाइ छ।
आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा काफ्लेले मादक पदार्थ वा लागुऔषध सेवन गरी तथा तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिका कारण निर्दोष सडक प्रयोगकर्तासमेत जोखिममा पर्ने गरेको बताए। “सडकमा एक जनाको पनि अनाहकमा ज्यान नजाओस् भन्ने हाम्रो पहिलो प्राथमिकता हो,” उनले भने, “त्यसका लागि अब सिठी फुकेर मात्र सम्भव हुँदैन।”
काफ्लेले सडक सुरक्षाका लागि ‘थ्री ई’ अर्थात् इन्जिनियरिङ, एजुकेसन र इन्फोर्समेन्ट तीनै पक्ष प्रभावकारी हुनुपर्ने बताए। सडकको डिजाइन र पूर्वाधार सुधारसँगै विद्यालय तहदेखि नै ट्राफिक शिक्षालाई पाठ्यक्रममा समेट्नुपर्ने उनको जोड थियो। नेपालमा ट्राफिकसम्बन्धी शिक्षा औपचारिक पाठ्यक्रममा नसमेटिएको भन्दै उनले ट्राफिक प्रहरीले विद्यालय, कलेज र विश्वविद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए।
उनका अनुसार ट्राफिक प्रहरीले सामाजिक सञ्जालमार्फत हरेक साता २० देखि ३० लाख मानिससम्म सचेतनामूलक सामग्री पुर्याउँदै आएको छ भने प्रत्यक्ष रूपमा मासिक तीनदेखि चार लाख जनासम्मलाई कार्यक्रममार्फत जोड्ने प्रयास भइरहेको छ। ट्राफिक नियम उल्लंघनपछि सञ्चालन गरिने सचेतना कक्षा पनि प्रभावकारी भएको उनले बताए।
काफ्लेले ट्राफिक प्रहरीको पहिलो प्राथमिकता जरिवाना असुल्नु नभई सडक दुर्घटना न्यूनीकरण रहेको स्पष्ट पारे। कारबाहीका क्रममा नागरिकसँग नम्र भाषा र सम्मानजनक व्यवहार गर्न निर्देशन दिँदै उनले कामभन्दा काम गर्ने शैलीका कारण पनि ट्राफिक प्रहरी आलोचित हुने गरेको बताए। नेपालमा अझै दैनिक औसत आठ जनाको सडक दुर्घटनामा मृत्यु हुने र करिब ७५ जना गम्भीर घाइते हुने अवस्था रहेको भन्दै उनले दुर्घटना करिब २० प्रतिशत घटे पनि त्यसलाई सन्तोषजनक मान्न नसकिने बताए।