काठमाडौं । नेपालमा बसाइँ, भिसा तथा अध्यागमनसम्बन्धी नियम उल्लंघन गर्ने विदेशी नागरिकलाई निष्कासन गर्ने क्रम पछिल्ला वर्षमा बढेको देखिएको छ। अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२१ देखि २०२५ सम्म पाँच वर्षको अवधिमा नेपालबाट २ हजार २८८ जना विदेशी नागरिक निष्कासित भएका छन्।
तथ्यांकअनुसार सन् २०२५ मा मात्रै ५२३ जना विदेशी नागरिक नेपालबाट निष्कासित भएका छन्। यो पाँच वर्षकै सबैभन्दा ठूलो संख्या हो। सन् २०२४ मा ५०९, २०२३ मा ४५८, २०२२ मा ४७० र २०२१ मा ३२८ जना विदेशी निष्कासित भएका थिए।
यसरी सन् २०२१ को तुलनामा २०२५ मा विदेशी नागरिक निष्कासनको संख्या करिब ६० प्रतिशतले बढेको देखिन्छ।
चिनियाँ नागरिकको संख्या सबैभन्दा धेरै
पछिल्लो पाँच वर्षमा नेपालबाट निष्कासित विदेशी नागरिकमध्ये चिनियाँ नागरिकको संख्या सबैभन्दा धेरै रहेको छ। विशेषगरी सन् २०२३ देखि २०२५ सम्म चिनियाँ नागरिकको संख्या उल्लेख्य देखिन्छ।
सन् २०२५ मा १२० जना चिनियाँ नागरिक निष्कासित भएका थिए। त्यस्तै २०२४ मा १४९, २०२३ मा २०९, २०२२ मा १११ र २०२१ मा ३४ जना चिनियाँ नागरिकलाई नेपालबाट निष्कासन गरिएको विभागको तथ्यांकमा उल्लेख छ।
सन् २०२३ मा मात्रै २०९ जना चिनियाँ नागरिक निष्कासित भएका थिए, जुन उक्त वर्ष कुनै एक देशका नागरिकमध्ये सबैभन्दा ठूलो संख्या हो। त्यसपछि २०२४ मा १४९ र २०२५ मा १२० जनामा झरे पनि चिनियाँ नागरिक निष्कासनको सूचीमा निरन्तर अगाडि छन्।
अमेरिकी र बेलायती नागरिक पनि निष्कासनमा
नेपालबाट निष्कासित हुने विदेशी नागरिकको सूचीमा अमेरिकी नागरिक पनि उल्लेख्य छन्। सन् २०२५ मा ३४ जना अमेरिकी नागरिक निष्कासित भएका छन्। यसअघि २०२४ मा ५४, २०२३ मा ३७, २०२२ मा ४८ र २०२१ मा ११ जना अमेरिकी नागरिक निष्कासनमा परेका थिए।
त्यस्तै बेलायती नागरिक पनि हरेक वर्ष निष्कासनको सूचीमा देखिन्छन्। सन् २०२५ मा २२ जना, २०२४ मा २९, २०२३ मा १८, २०२२ मा ३७ र २०२१ मा १६ जना बेलायती नागरिक निष्कासित भएका थिए।
दक्षिण एसियाली मुलुकतर्फ हेर्दा बंगलादेशी र पाकिस्तानी नागरिक पनि उल्लेख्य संख्यामा निष्कासनमा परेका छन्। सन् २०२५ मा ७५ जना बंगलादेशी नागरिक निष्कासित भएका थिए भने २०२४ मा ४२ र २०२३ मा ११ जना निष्कासनमा परेका थिए।
पाकिस्तानी नागरिकतर्फ सन् २०२५ मा १८ जना, २०२४ मा ३०, २०२२ मा १८ र २०२१ मा १२ जना निष्कासित भएका छन्।
अन्य देशका नागरिक पनि कारबाहीमा
चीन, अमेरिका, बेलायत, बंगलादेश र पाकिस्तानबाहेकका विभिन्न देशका नागरिक पनि नेपालबाट निष्कासनमा परेका छन्। विभागको विवरणमा युरोप, एसिया लगायत विभिन्न क्षेत्रका देशका नागरिकहरू पनि सूचीमा देखिन्छन्।
सन् २०२३ मा उज्बेकिस्तान, २०२२ मा फ्रान्स तथा २०२१ मा दक्षिण कोरियाका नागरिक पनि निष्कासनमा परेको तथ्यांकमा उल्लेख छ। यसले अध्यागमन नियम उल्लंघनको समस्या कुनै निश्चित मुलुकका नागरिकमा मात्र सीमित नरहेको देखाउँछ।
ओभरस्टे मुख्य कारण
विदेशी नागरिकलाई नेपालबाट निष्कासन गर्नुपर्ने प्रमुख कारणमा भिसा अवधि सकिएपछि पनि नेपालमा बसिरहनु अर्थात् ओभरस्टे देखिएको छ। पाँच वर्षको तथ्यांकमा हरेक वर्ष ओभरस्टेका कारण निष्कासित हुने विदेशीको संख्या मुद्दासम्बन्धी कारणबाट निष्कासित हुनेभन्दा धेरै छ।
सन् २०२५ मा ४५९ जना ओभरस्टे र ६४ जना मुद्दासम्बन्धी कारणले निष्कासित भएका थिए। २०२४ मा ४५९ ओभरस्टे र ५० मुद्दा, २०२३ मा ४१२ ओभरस्टे र ४६ मुद्दा, २०२२ मा ४३४ ओभरस्टे र ३६ मुद्दा तथा २०२१ मा २९३ ओभरस्टे र ३५ मुद्दाका कारण विदेशी नागरिक निष्कासनमा परेका थिए।
यसरी पाँच वर्षमा निष्कासित २ हजार २८८ विदेशी नागरिकमध्ये ठूलो हिस्सा भिसा अवधि सकिएपछि पनि नेपालमा बसेका ओभरस्टे गर्नेहरू रहेको देखिन्छ।
समग्र तथ्यांकले नेपालमा विदेशी नागरिकको आवागमन बढ्दै जाँदा अध्यागमन नियमको पालना गराउने चुनौती पनि बढिरहेको संकेत गर्छ। पर्यटक भिसामा आएर तोकिएको अवधिभन्दा बढी बस्ने, भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न हुने वा अन्य कानुनी विवादमा पर्ने विदेशी नागरिकमाथि अध्यागमन विभागले निष्कासनलगायतका कारबाही गर्दै आएको छ।
अमेरिकाले नेपाली नागरिकलाई डिपोर्ट गर्ने विषय चर्चामा आइरहेका बेला नेपालले पनि आफ्नो अध्यागमन तथा प्रचलित कानुन उल्लंघन गर्ने विदेशी नागरिकमाथि निष्कासनको कारबाही गर्दै आएको तथ्य पछिल्लो पाँच वर्षको तथ्यांकले देखाएको छ।
