देशमा मात्रै होइन संसारभर महिलामाथि हुने हिंसा बढिरहेको छ । बलात्कारपछि हत्याजस्ता जघन्य अपराधदेखि दुर्व्यवहारसम्मका सिकार महिला भइरहेका छन् । घटनाको प्रकृति फरक भए पनि महिलाहरू हिंसा पीडित छन् । घरभित्रै समेत हिंसाको सिकार भएका छन् । आफन्तबाटै बलात्कृत भएका छन् । जबरजस्ती करणीमा परेका छन् ।
तर कहिलेकाहीँ सुनिन्छ श्रीमानबाटै श्रीमती बलात्कृत ! विरलै बाहिर आउँछन् यस्ता घटना । के श्रीमानबाट पनि महिलाहरू बलात्कृत हुन्छन् ? कयौँ श्रीमती आफ्नै श्रीमानबाट यौन उत्पीडन झेलिरहेका छन् । वा बलात्कारको सिकार भइरहेका छन् ।
कतिपयले विवाह र यौनलाई जोडेर हेर्छन् । सुन्दा नमिठो लागे पनि कतिपयले यौनकै लागि विवाह गरे समेत ठान्छन् । विवाहपछि श्रीमान् र श्रीमतीबिच शारीरिक सम्पर्क हुनुलाई नेपालमा सामाजिक रूपमा वैधानिक मानिन्छ । प्राकृतिक मानिन्छ । यो एक जैविक आवश्यकता पनि हो हो । तर कतिपय पुरुषले महिलामाथि आफ्नो अधिकार जमाउन खोज्छन् ।
त्यसो भए के श्रीमानले श्रीमतीलाई बलात्कार गर्छ ? यौन सम्बन्ध स्थापित हुनका लागि दुवैको सहमति र इच्छा आवश्यक हुन्छ । कसैको असहमतिमा गरिने यौन बर्बरता हो ।
बलात्कार वा जबरजस्ती करणी लाई सामान्य अर्थमा अर्थ्याउने हो भने महिलाको सहमति बेगर गरिएको यौन क्रिया हो। त्यसो भए श्रीमतीको सहमतिविनै श्रीमानले गर्ने यौन क्रिया के बलात्कार हो ? अवश्य । यौन सम्बन्धमा बलात्कार त्यही बेला हुन्छ, जब आफ्नो यौन प्यास मेट्न जबरजस्ती गरिन्छ । विवाह गर्नु भनेको आफ्नो यौन प्यास मेटाउने वैधानिकता पूरा गर्नु होइन ।
वैवाहिक बलात्कार भनेको वैवाहिक जीवनपछि महिलामाथि हुने घरेलु तथा यौन हिंसा हो । पत्नीको इच्छा, चाहना र सहमतिविना यौन सम्पर्क गर्नु वैवाहिक बलात्कार हो ।
विश्वभक्त दुलाल(आउती) विवाह संस्था बलात्कारबाटै सुरु भएको बताउँछन्। वैवाहिक बलात्कार त समाजमा सदियौँदेखि भइरहेका उनेका भनाइ छ ।
‘महिलाहरूलाई जबरजस्ती लुटेर, बन्धन बनाएरै विवाहको सुरु भएको हो । पछि विवाहलाई संस्कारको रूप दिइयो । संस्कारको रूप प्राप्त गरेपछि विवाह भन्ने संस्थाले समाज अघि बढाउन भूमिका पनि खेलेको छ । वैवाहिक बलात्कार त समाजमा भइरहेको थियो, यद्यपि लामो समय त्यसलाई बलात्कार भनिएन ।’ एक अन्तरवार्तामा उनले भनेका छन् ।
नेपाली समाजले विवाहपछि श्रीमान् सँगको यौन सम्पर्कलाई मात्र मान्यता दिन्छ । तर, नेपालको कानुनले भने लोग्ने–स्वास्नीबिच पनि सहमति नभई यौन सम्बन्ध स्थापित गर्न नहुने व्यवस्था गरेको छ । सहमति विपरीत भएको यस्तो सम्बन्धलाई दण्डनीय मानेको छ । पत्नीको सहमति बेगर पतीले जबरजस्ती करण गरेमा पाँच वर्षसम्मको सजाय हुने व्यवस्था छ । यस्ता घटना बाहिर आउने क्रम पनि बढेको छ । कतिपय अहिले जेलमा समेत छन् ।
तर, कतिपय अवस्थामा बैवाहिक बलात्कारसम्बन्धी यो कानुनको दुरुपयोग भइरहेको पनि देखिन्छ । कानुन धेरैले दुरुपयोग गरेर ‘बार्गेनिङको हतियार’ बनाउने गरेको पनि टिप्पणी हुन्छ ।
दम्पत्तिबीच मनमुटाब हुँदा, अन्य व्यक्तिसँग श्रीमतीको सम्बन्ध भएको श्रीमानले थाहा पाउँदा वा श्रीमान्लाई छाड्न चाहेपछि वैवाहिक बलात्कारसम्बन्धी कानुनको दुरुपयोग हुने गरेको समेत सुनिन्छ । श्रीमानले अंश नदिएमा पनि अन्य बाटो छाडेर श्रीमतीले सो कानुनलाई दुरुपयोग गर्न सक्ने देखिन्छ । तर, नगण्य रुपमा ।
यौन सम्पर्क श्रीमान् र श्रीमती दुवैको प्राकृतिक आवश्यकता हो । महिलाले आफ्नो यौन अधिकार प्रति सचेत हुने र पुरुषले पनि बिहे गर्ने बित्तिकै श्रीमतीमाथि यौन अधिकार जमाउन पाइन्छ भन्ने नसोचे दाम्पत्य जीवन सुखी र दिगो हुन्छ ।
नेपालजस्तो देशमा विवाहलाई एउटा संस्कार पनि मानिन्छ । जैविक रुपमा पुस्तान्तरणका लागि पनि यो अपरिहार्य छ । यौन स्वाभाविक हो ।
तर यसका लागि दुवैको त्यसमा समान सहभागिता हुनुपर्छ । पुरुष र महिला दुवैको इच्छा अनुसार समान सहभागिता र सक्रियतामा गरिने यौन सम्बन्ध नै स्वास्थ्य हुन्छ । यस किसिमको यौन सम्बन्धले दम्पतीलाई यौन सुख प्राप्त हुन्छ ।