काठमाडौं। नेपाली कांग्रेसले राहदानी छपाई ठेक्का प्रकरणमा सरकारको पारदर्शिता, निर्णय प्रक्रिया र नियतमाथि गम्भीर प्रश्न उठेको भन्दै यसबारे स्पष्ट जवाफ दिन सरकारसँग माग गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले राहदानी छपाइका लागि कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई विवादमा पारेर खरिद प्रक्रियामै प्रश्न उठेको दाबी गर्दै त्यसको वास्तविकता सार्वजनिक गर्नुपर्ने बताए।
राहदानी खरिद राष्ट्रिय सुरक्षा र सार्वभौम पहिचानसँग जोडिएको संवेदनशील विषय भएकाले सरकारका सबै निर्णय पारदर्शी, प्रतिस्पर्धी र कानुनसम्मत हुनुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्रीको सचिवालय, सरकारी सल्लाहकार र फ्रान्सेली कम्पनीबीचको सम्बन्धबारे सञ्चारमाध्यममा उठेका प्रश्नको पनि सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनले बताए।
उनले भने, “सरकार र जर्मन कम्पनीबीचको विवादको वास्तविक कारणमा सरकार अहिले पनि आफ्नो धारणा आधिकारिक रूपमा बाहिर ल्याएको छैन।”
प्रवक्ता चालिसेले सुशासन र भ्रष्टाचारविरुद्धको नारा लिएर सत्तामा आएको सरकारले आफ्नै प्रतिबद्धताअनुसार काम गर्न नसकेको आरोप लगाए। राहदानी खरिदजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा उठेका सबै प्रश्नको निष्पक्ष छानबिन गरी तथ्य सार्वजनिक गर्न उनले सरकारसँग माग गरे।