काठमाडौँ । भारतीय चलचित्र लगान, गजनी लगायतका चर्चित फिल्ममा अभिनय गरेका वरिष्ठ अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। उनको निधन मंगलबार भएको हो।
रावतको निधनबारे जानकारी लगानमा सहकलाकार रहेका अभिनेता यशपाल शर्माले इन्स्टाग्राममार्फत श्रद्धाञ्जली अर्पण गर्दै सार्वजनिक गरेका हुन्।
हिन्दुस्तान टाइम्सका अनुसार रावतका प्रबन्धक सिद्धार्थ तिवारीले पनि उनको निधनको पुष्टि गरेका छन्। उनका अनुसार रावत क्यान्सरबाट पीडित थिए। रोग पुनः बल्झिएपछि उनी पछिल्लो एक महिनादेखि अस्पतालमा उपचाररत थिए।
रावतको अन्तिम हिन्दी चलचित्र छावा थियो, जुन १४ फेब्रुअरी २०२५ मा प्रदर्शनमा आएको थियो।
उनले आफ्नो अभिनय यात्रा बी.आर. चोपडा प्रोडक्सन्सको चर्चित टेलिभिजन शृंखला महाभारतमा अश्वत्थामाको भूमिकाबाट सुरु गरेका थिए। त्यसपछि उनले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, बंगाली र भोजपुरी भाषाका चलचित्रमा अभिनय गर्दै भारतीय चलचित्र उद्योगमा छुट्टै पहिचान बनाएका थिए।
भारतीय चलचित्रसँगै प्रदीप रावतले नेपाली चलचित्रमा पनि अभिनय गर्दै नेपाली दर्शकमाझ समेत लोकप्रियता कमाएका थिए।