स्याङ्जा। वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ। नगरपालिकाले वालिङ–१ स्थित त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई ‘कृषि एम्बुलेन्स’ हस्तान्तरण गरेसँगै किसानका उत्पादन घर–आँगनबाटै संकलन गरी बजारसम्म पुर्याउने सेवा सुरु भएको हो।
वालिङ नगरपालिका, हेफर इन्टरनेसनल नेपाल र दियालो संस्थाको साझेदारीमा सञ्चालित वालिङ कृषि विकास परियोजनाअन्तर्गत ३२ लाख ९० हजार रुपैयाँ लागतमा कृषि एम्बुलेन्स खरिद गरिएको हो। यसमध्ये नगरपालिकाले १८ लाख ९० हजार रुपैयाँ तथा परियोजनाले १४ लाख रुपैयाँ व्यहोरेका छन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार यो सेवा कृषि उत्पादनको संकलन, ढुवानी, भण्डारण र बजारीकरणलाई आधुनिक तथा व्यवस्थित बनाउने उद्देश्यले सुरु गरिएको हो।
उनले भने, “कृषि उत्पादनलाई खेतदेखि बजारसम्म जोड्ने यो सेवा किसानमैत्री कार्यक्रम हो। अब किसानले उत्पादन बिक्रीका लागि ढुवानीको चिन्ता गर्नुपर्ने अवस्था रहने छैन।”
हाल सहकारीमार्फत दैनिक करिब ५० क्विन्टल तरकारी संकलन भइरहेको छ। कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि किसानको घरबाटै तरकारी उठाइने भएकाले ढुवानी खर्च घट्ने, समयको बचत हुने तथा उत्पादन ताजा अवस्थामै बजार पुग्ने अपेक्षा गरिएको छ।
सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले ढुवानी अभावका कारण किसानले वर्षौंदेखि भोग्दै आएको समस्या अब समाधान हुने विश्वास व्यक्त गरे।
उनले भने, “पहिले ढुवानीको सहज व्यवस्था नहुँदा धेरै तरकारी खेतमै कुहिन्थ्यो, बजारसम्म पुर्याउन पनि निकै कठिन हुन्थ्यो। अब कृषि एम्बुलेन्समार्फत पोखरा र बुटवलसम्म नियमित रूपमा तरकारी पठाउन सकिने अवस्था बनेको छ।”
वालिङ नगरपालिकाले उत्पादित तरकारीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्नुका साथै उत्पादनका आधारमा प्रतिकिलो ५ रुपैयाँ अनुदान समेत उपलब्ध गराउँदै आएको छ। गत आर्थिक वर्षको ११ महिनामा मात्रै किसानलाई ७ लाख ९१ हजार ३४२ रुपैयाँ नगद अनुदान वितरण गरिएको थियो।
सहकारीका प्रबन्धक युवराज रेग्मीका अनुसार गत वर्ष सहकारीमार्फत १ लाख ५८ हजार २६८ केजी तरकारी संकलन गरिएको थियो।
उनले भने, “कृषि एम्बुलेन्सले एकपटकमा करिब १३० क्रेट तरकारी ढुवानी गर्न सक्छ। यसले ढुवानी लागत घटाउनुका साथै किसानलाई व्यावसायिक खेतीतर्फ अझ आकर्षित गर्ने विश्वास लिएका छौं।”
वालिङ नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनसँगै उत्पादनदेखि बजारसम्मको कृषि आपूर्ति शृङ्खला अझ सुदृढ हुने विश्वास लिएको छ। यसबाट विशेषगरी साना तथा व्यावसायिक किसानको बजार पहुँच विस्तार हुने, उत्पादनको उचित मूल्य प्राप्त हुने तथा आम्दानी वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
वालिङ कृषि विकास परियोजनाका हेफर नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले कृषि एम्बुलेन्स सेवाले किसानको उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्याउन सहयोग पुग्ने र कृषि क्षेत्रको व्यवसायीकरणमा महत्वपूर्ण टेवा पुग्ने बताए।