काठमाडौं। ‘लुम्बिनी बचाउ महाअभियान’ले लुम्बिनी विकास कोषमा भ्रष्टाचार भएको र पुरातात्त्विक सम्पदा संरक्षणमा गम्भीर लापरबाही भएको आरोप लगाएको छ।
सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाअभियानका प्रतिनिधिहरूले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको संरक्षणमा सरकार उदासीन बनेको र विभिन्न समयमा विकास कोषलाई अनियमितताको केन्द्र बनाइएको दाबी गरे।
महाअभियानका सहसंयोजक रामविकास चौधरीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको र विरोध गर्ने स्थानीयमाथि प्रहरी प्रशासनमार्फत दमन भएको आरोप लगाए। उनका अनुसार सन् १९९२ मा प्राचीन मायादेवी मन्दिर भत्काएर मौलिक स्वरूप बिगारिएको, मन्दिर परिसरको ऐतिहासिक पीपलको रुख गैरकानुनी रूपमा काटिएको र दानपेटीबाट पटक–पटक रकम चोरी भएको छ। मन्दिरभित्र अनधिकृत रूपमा मूर्ति राख्ने–हटाउने काम भएको तथा भगवान बुद्धको अस्तुधातुसहित बहुमूल्य पुरातात्त्विक सामग्रीको अवस्था अज्ञात रहेको उनले दाबी गरे।
प्राचीन स्मारक संरक्षण ऐनमा ऐतिहासिक संरचना नष्ट गर्नेलाई कडा सजायको व्यवस्था भए पनि लुम्बिनीमा जीर्णोद्धारका नाममा नयाँ संरचना निर्माण गरेर कानुनको उल्लंघन गरिएको उनको आरोप थियो।
महाअभियानका संयोजक अक्रम खानले लुम्बिनी विकास कोषभित्र अर्बौँ रुपैयाँ बराबरको भ्रष्टाचार र कमिसनको खेल भएको आरोप लगाए। ६ अर्ब रुपैयाँभन्दा बढीका अन्तर्राष्ट्रिय ठेक्का टुक्र्याएर कमिसन असुल गरिएको दाबी गर्दै उनले केही योजनामा अनियमितता रोक्न सफल भए पनि समस्या कायमै रहेको बताए। लुम्बिनी विकासको गुरुयोजना र कोषको विनियमावलीविपरीत काम भइरहेको तथा वैशाख पूर्णिमायता विकास कोषको नेतृत्व रिक्त रहनुले सरकारको नियतमाथि प्रश्न उठाएको उनको भनाइ थियो।
महाअभियानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै लुम्बिनीको गरिमा जोगाउन, सम्पदा संरक्षण प्रभावकारी बनाउन तथा अनियमिततामा संलग्नमाथि छानबिन गरी कारबाही गर्न माग गरेको छ।