काठमाडौं। राष्ट्रिय सभाका सांसदहरूले बढ्दो महँगी, एलपी ग्यास अभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले नागरिकको दैनिकी प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताले चर्को मूल्य तिरे पनि अत्यावश्यक वस्तु सहज रूपमा नपाएको भन्दै उनीहरूले महँगी नियन्त्रण, प्रभावकारी बजार अनुगमन र एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन्।
सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद कृष्णबहादुर रोकायले खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढ्दा पनि बजारमा आवश्यक सामग्री सहज रूपमा उपलब्ध नभएको बताए। भारतमा एलपी ग्यासको मूल्य पटक–पटक घट्दा पनि नेपाल आयल निगमले घाटाको कारण देखाएर मूल्य नघटाएको उनको आरोप थियो। रुकुम पश्चिमसहित विभिन्न जिल्लामा ग्यास अभावका कारण स्थानीय नागरिक र होटल व्यवसायी समस्यामा परेको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रमा तत्काल सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे। उनले भने, ‘चर्को मूल्यका बाबजुद सामानहरू बजारमा सहज रूपमा नागरिकले प्राप्त गर्न सकिरहेका छैनन्।’
सांसद विष्णुकुमारी सापकोटाले चाडपर्वको मुखमा महँगीले नागरिकको भान्सा प्रभावित भएको बताइन्। पेट्रोलियम पदार्थको पछिल्लो मूल्यवृद्धिले खाद्यान्न, चामल, दाल, तरकारी, मासु, चिनी र फलफूललगायतका वस्तुको मूल्य थप बढ्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो। ग्यासको मूल्य यथावत रहेको भनिए पनि उपभोक्ताले सहज रूपमा प्राप्त गर्न नसकेको उल्लेख गर्दै उनले नागरिकका अत्यावश्यक आवश्यकताप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन्। उनले भनिन्, ‘चाडबाडको मुखमा विकल्प खोजेर भए पनि नागरिकको नैसर्गिक अधिकारप्रति सरकारको गम्भीर ध्यान केन्द्रित होस्।’
यस्तै, सांसद श्रीकृष्णप्रसाद अधिकारीले बजारमा एलपी ग्यास अभावसँगै तरकारी, फलफूल र अन्य खाद्यवस्तुको मूल्यवृद्धिले सर्वसाधारणको दैनिकी कठिन बन्दै गएको बताए। खाद्यवस्तुमा विषादी र अखाद्य पदार्थको मिसावटका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै उनले गुणस्तर विभागको क्षमता र जनशक्ति विस्तार गरी बजार अनुगमनलाई अनिवार्य र प्रभावकारी बनाउन सरकारसँग माग गरे।
बैठकमा बोल्ने सांसदहरूले महँगी नियन्त्रण, एलपी ग्यासको सहज आपूर्ति र प्रभावकारी बजार अनुगमनमा सरकारले पर्याप्त पहल गर्न नसकेको भन्दै नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयमा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरे।