काठमाडौं। नेपालको खेलकुद इतिहाससँग सम्बन्धित करिब पाँच लाख दुर्लभ तस्बिर, पदक, ट्रफी र ऐतिहासिक खेल सामग्री समेटिएको तीनदिने प्रदर्शनी साउन १९ देखि काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हुने भएको छ।
नेपाल ओलम्पिक संग्रहालय (एनओएम) ले आइतबार पत्रकार सम्मेलन गर्दै ‘बियोन्ड मेडल : प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री’ शीर्षकको प्रदर्शनी साउन २१ गतेसम्म सञ्चालन हुने जनाएको हो।
एनओएमकी अध्यक्ष सन्सी श्रेष्ठका अनुसार प्रदर्शनीमा विभिन्न कालखण्डका खेल सामग्री, स्मृतिचिन्ह र ऐतिहासिक अभिलेख पनि प्रदर्शन गरिनेछन्। दक्षिण एसियाकै पहिलो तथा नेपालको एकमात्र ओलम्पिक संग्रहालय मानिने एनओएमले आफ्नो ३३औँ वार्षिकोत्सवका अवसरमा खेलकुद इतिहासको संरक्षण र अभिलेखीकरणलाई केन्द्रमा राखेर प्रदर्शनी आयोजना गर्न लागेको हो।
प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुदमन्त्री सास्मित पोखरेलले गर्ने कार्यक्रम छ। आयोजकका अनुसार प्रदर्शनीले विद्यार्थी, अनुसन्धानकर्ता, खेलकर्मी र सर्वसाधारणलाई नेपालको खेलकुद इतिहास नजिकबाट चिन्ने अवसर दिनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, खेल प्रशासक र खेलप्रेमीको सहभागिता रहने अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलनमा एनओएमका संस्थापक तथा वरिष्ठ खेलकुद पत्रकार क्षितिज अरुण श्रेष्ठ तथा दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेता मञ्जु तुलाधारको योगदानप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो।