काठमाडौं – थाइल्यान्डबाट करिब ११ किलो गाँजा ल्याएको आरोपमा तीन भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको पन्जाबका ३० वर्षीय सोनी, २३ वर्षीय जागरूप सिंह तथा हरियाणाका २२ वर्षीय साहिल रहेका छन्। उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार शनिबार राति क्याथे प्यासिफिक एअरवेजको उडानमार्फत दुई भारतीय नागरिक थाइल्यान्डबाट हङकङ हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए। उनीहरूले ल्याएको गाँजा बुझ्न अर्का भारतीय नागरिक विमानस्थल पुगेका थिए।
प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई करिब ११ किलो गाँजासहित पक्राउ गरेको जनाएको छ। उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।