काठमाडौं । सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयकहरू सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा–सुविधा र सेवाका शर्त, खानी तथा खनिज पदार्थ, संक्रामक पशुरोग नियन्त्रण, राहदानी, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, बालश्रम निषेध, आन्तरिक वायुसेवा, मेलमिलाप तथा कर्मचारी सञ्चय कोषसम्बन्धी विधेयक संसद्मा पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद्ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा उनले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि गरेको छ।
त्यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी, मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृति प्रदान गरेको मन्त्री पोखरेलले बताए।