काठमाडौं । लघुवित्त पीडितहरूले आफ्ना विभिन्न माग पूरा गर्न दबाब दिँदै बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघर मण्डलामा धर्ना जारी राखेका छन्।
प्रदर्शनकारीहरूले लघुवित्तसम्बन्धी विगतमा बनेका अध्ययन तथा प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न, लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण अन्त्य गर्न, चर्को तथा चक्रवृद्धि ब्याज रोक्न तथा विभिन्न शीर्षकमा असुल गरिने हर्जना र अतिरिक्त शुल्क खारेज गर्न माग गरेका छन्।
उनीहरूले जग्गा धितो लिलामी, कालोसूचीमा राख्ने कार्य र अन्यायपूर्ण ऋण असुलीका विषयमा निष्पक्ष न्यायिक निरूपण गर्न पनि सरकारसँग आग्रह गरेका छन्।
यसअघि मंगलबार उनीहरूले बालुवाटारमा धर्ना दिएका थिए। त्यसपछि नेपाल राष्ट्र बैंकतर्फ अघि बढ्ने क्रममा प्रहरीले रोकेपछि उनीहरू सडकमै बसेर विरोध प्रदर्शन गरेका थिए।
लघुवित्त पीडितहरू न्यायको माग गर्दै देशका विभिन्न जिल्लाबाट पैदल मार्च गर्दै काठमाडौं आइपुगेका हुन्।