काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करका दर सुधार गर्न तथा आयात महशुलसम्बन्धी उद्योगी व्यवसायीका गुनासा सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। निजी क्षेत्रका समस्या समाधानका लागि अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय गरेर आवश्यक निर्णय अघि बढाइने उनको प्रतिबद्धता छ।
मंगलबार अर्थ मन्त्रालयमा उद्योगी व्यवसायीसँग भएको छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगीहरूले आयात महशुल, कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करका कारण स्वदेशी उद्योग प्रतिस्पर्धामा कमजोर बनेको विषय उठाएको जानकारी दिए।
“खास गरेर इम्पोर्ट ड्युटी, कच्चा पदार्थ र रेडिमेड वस्तुमा लाग्ने करका कारण समस्या रहेको विषय उहाँ (अर्थामत्री) ले राख्नुभयो। अर्थमन्त्रीज्यूले आउने दिनमा मन्त्रिपरिषद् वा मन्त्रालयगत निर्णयमार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो,” ढकालले भने।
उनका अनुसार छलफलमा कार्यशील पुँजी (वर्किङ क्यापिटल) मार्गदर्शनलगायत बैंकिङ क्षेत्रका समस्या, पूर्वाधारसम्बन्धी नीतिगत सुधार तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने सरकारी नीतिको प्रभावकारी कार्यान्वयनबारे पनि छलफल भएको थियो। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रमैत्री नीति, लगानी प्रवर्द्धन र आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्रोत्साहन सरकारको प्राथमिकतामा रहेको बताएका थिए।
ढकालका अनुसार अर्थमन्त्रीले अर्थतन्त्रसँग सम्बन्धित ४२ वटा ऐन यसै वर्ष संशोधन वा खारेज गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिँदै प्रशासनिक झन्झट घटाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।