इस्लामावाद – पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण पछिल्लो एक महिनामा कम्तीमा १०९ जनाको मृत्यु भएको छ। मौसमविद्ले यसै साता देशका विभिन्न क्षेत्रमा पुनः भारी वर्षा हुने चेतावनी दिएसँगै सरकारले सम्भावित विपद्को तयारीलाई तीव्र बनाएको छ।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार जुन २६ यता मनसुनसँग सम्बन्धित विभिन्न घटनामा १०९ जनाले ज्यान गुमाएका छन्। अधिकांशको मृत्यु घर तथा छाना भत्किँदा भएको हो। मृतकमध्ये झण्डै आधा अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तका छन्।
बाढीको जोखिम उच्च रहेका क्षेत्रको अवस्थाबारे समीक्षा बैठक सम्पन्न भएको भोलिपल्ट प्राधिकरणले अद्यावधिक तथ्यांक सार्वजनिक गरेको हो। अधिकारीहरूले नदी किनारका बस्तीमा समयमै पूर्वसूचना पुर्याउने, जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक परे बाढी आउनुअघि नै स्थानान्तरण गर्ने योजनालाई प्राथमिकता दिएका छन्।
गत साता सांस्कृतिक राजधानी लाहोर लगायत विभिन्न क्षेत्रमा परेको अविरल वर्षापछि धेरै बस्ती डुबानमा परेका थिए। सडक जलमग्न हुँदा सर्वसाधारणले लामो दूरी घुमेर यात्रा गर्नुपरेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा मानिसहरू घुँडासम्मको पानी छिचोल्दै हिँडिरहेको देखिएपछि विपद् व्यवस्थापनमा सरकारको तयारी र प्रतिक्रिया प्रभावकारी नभएको भन्दै आलोचना भएको छ।
अधिकारीहरूले पछिल्ला महिनामा सन् २०२२ जस्तै विनाशकारी बाढी पुनः दोहोरिन सक्ने जोखिम रहेको चेतावनी दिँदै आएका छन्। सन् २०२२ को भीषण बाढीले पाकिस्तानको करिब एक तिहाइ भूभाग डुबानमा परेको थियो। उक्त विपद्मा एक हजार ७३७ जनाको मृत्यु भएको थियो भने लाखौँ मानिस विस्थापित भएका थिए।