पोखरा । पोखराका होटल तथा भाडाका कोठामा लामो समय बस्ने व्यक्तिबाट हुन सक्ने अवैध गतिविधिलाई लक्षित गर्दै प्रहरीले निगरानी कडा बनाउने भएको छ। पर्यटन सुरक्षाबारे पर्यटन व्यवसायीसँग भएको अन्तरक्रियामा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वीरेन्द्र घर्तीले शंकास्पद गतिविधिमाथि सूक्ष्म निगरानी बढाइएको जानकारी दिए।
उनले होटल व्यवसायी र घरधनीलाई पाहुनाको पहिचान सुनिश्चित गर्न तथा कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरे।
‘शंकास्पद गतिविधिमाथि प्रहरीले निगरानी बढाएको छ,’ घर्तीले भने, ‘पाहुनाको पहिचान सुनिश्चित गरी कुनै पनि शंकास्पद गतिविधिको सूचना तत्काल प्रहरीलाई दिनुहोस्।’
पोखरा पर्यटन परिषद्ले आयोजना गरेको कार्यक्रममा पर्यटन क्षेत्रको सुरक्षा, पदयात्रा मार्ग, होटल व्यवस्थापन र प्रहरी–व्यवसायी समन्वयबारे छलफल भएको थियो।
परिषद्का अध्यक्ष तारानाथ पहारीले सुरक्षित वातावरणबिना पर्यटन विकास सम्भव नहुने भन्दै पर्यटन क्षेत्र र सुरक्षा निकायबीच निरन्तर संवाद आवश्यक रहेको बताए।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पदयात्रा मार्गमा दुर्घटना तथा आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै प्रमुख ट्रेकिङ रुटमा स्थायी सुरक्षा युनिट स्थापना गर्न माग गरे।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले केही होटल व्यवसायीले पाहुनालाई मोटरसाइकलमार्फत स्कर्टिङ गर्ने प्रवृत्तिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश गएको भन्दै त्यसमा निगरानी बढाउन प्रहरीसँग आग्रह गरे।
पोखरा पर्यटन वर्षका संयोजक गोपी भट्टराईले भारतीय पर्यटकको आगमन बढिरहेका बेला पर्यटक सुरक्षामा प्रहरीले खेलेको भूमिका सकारात्मक रहेको बताए।
कार्यक्रममा लेकसाइड क्षेत्रका होटल, ट्राभल, ट्रेकिङ तथा अन्य पर्यटन व्यवसायी सहभागी थिए।