काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सरकारले कोशी प्रदेश प्रहरी कार्यालयको नेतृत्व परिवर्तन गरेको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
गृह मन्त्रालयले कोशी प्रदेशका तत्कालीन प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाउँदै उनको स्थानमा खनाललाई सरुवा गरेको हो।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो।
उक्त घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी कुल २४ जना घाइते भएका छन्।
घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिसकेको छ। समितिलाई घटनाको अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।