काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
टस जितेसँगै कप्तान रोहित पौडेलले फिल्डिङ रोजेका हुन्। यस खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। स्पिनर ललित राजवंशीलाई विश्राम दिँदै ब्याटर भीम सार्कीलाई प्लेइङ–११ मा समावेश गरिएको छ।
नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, इशान पाण्डे, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन्।
उत्रेथमा भइरहेको यस त्रिकोणात्मक सिरिजमा नेपालले हालसम्म राम्रो सुरुआत गर्न सकेको छैन। पहिलो दुई खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग पराजित भएको थियो।
मुख्य बलर चोटका कारण टोलीबाहिर रहेकाले नेपाललाई बाँकी खेलमा थप चुनौती सामना गर्नुपर्ने देखिएको छ। तालिकाअनुसार नेपालले बुधबार आफ्नो अन्तिम लिग खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।