काठमाडौँ । पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लिग चरणका सबै खेल गुमाएको छ।
सोमबार भएको पाँचौँ तथा अन्तिम लिग खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो। नेपाल पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले गुमाउँदै लगातार पाँचौँ हार बेहोर्न बाध्य भयो।
यससँगै नेपालले लिग चरणका पाँचै खेलमा पराजय भोग्यो। तीमध्ये तीन खेलमा नेपालले पाँचौँ सेटसम्म संघर्ष गरे पनि जित निकाल्न सकेन। प्रतियोगितामा ३ अंक जोडेको नेपाल अंकतालिकाको पुछारमा रह्यो।
छ टोली सहभागी प्रतियोगितामा शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। बाँकी लिग खेलपछि सेमिफाइनल समीकरणसँगै पाँचौँ स्थानका लागि हुने प्लेअफमा नेपालको प्रतिद्वन्द्वी पनि तय हुनेछ।
हालसम्म घरेलु टोली पाकिस्तान चारै खेल जित्दै १२ अंकसहित शीर्ष स्थानमा छ। उज्वेकिस्तान ९ अंकसहित दोस्रो, बंगलादेश ६ अंकसहित तेस्रो, श्रीलंका ५ अंकसहित चौथो र कजाखस्तान ४ अंकसहित पाँचौँ स्थानमा छन्।