काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) प्रथम सेमेस्टरको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएको घटनामा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
साउन ८ गते सञ्चालन भएको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको करिब पाँच मिनेटमै ह्वाट्सएपमार्फत सार्वजनिक भएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाको परिचय साइबर ब्युरोले केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ।
घटनालाई गम्भीर रूपमा लिँदै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीसँग छलफल गरेका छन्। मन्त्रीको सचिवालयका अनुसार दुवै आरोपी नियन्त्रणमा आइसकेका छन् भने घटनाबारे विस्तृत जानकारी प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले पनि साइबर ब्युरोले पक्राउ परेका व्यक्तिहरू र अनुसन्धानको प्रगतिबारे औपचारिक जानकारी छिट्टै दिने बताएका छन्।
पाँच मिनेटमै ह्वाट्सएपमा पुगेको थियो प्रश्नपत्र
मध्याह्न १२ बजे सुरु भएको परीक्षाको प्रश्नपत्र करिब १२:०५ बजे ‘एमबिएस फर्स्ट सेम सेक्सन सी’ नामक १ हजार २३ सदस्य रहेको ह्वाट्सएप ग्रुपमा पोस्ट गरिएको थियो।
सार्वजनिक भएको स्क्रिनसटअनुसार ‘सुलभ सर’ नामबाट प्रश्नपत्र पठाइएपछि ‘केशव भट्ट’ नामक सदस्यले समाधानसमेत मागेका थिए। त्यसलगत्तै अर्को पीडीएफ फाइल पनि ग्रुपमा पठाइएको देखिएको छ। त्यस्तै, ‘सुजन पौडेल’ नामका सदस्यले आगामी ‘इकोनोमिक्स’ विषयको प्रश्नपत्र पनि यस्तै ढंगले उपलब्ध गराइदिन अनुरोध गरेका थिए।
त्रिविले गठन गर्यो छानबिन समिति
घटना सार्वजनिक भएपछि त्रिवि व्यवस्थापन संकायका सहायक डीन डा. भरत राईले साइबर ब्युरोलाई पत्र लेख्दै ‘सुलभ सर’ लगायत संलग्न व्यक्ति तथा सम्बन्धित परीक्षा केन्द्रको पहिचान गरी कानुनी कारबाही गर्न आग्रह गरेका थिए।
यसैबीच, त्रिवि परीक्षा सञ्चालक समितिले प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा सह-प्रा.डा. पुष्कर रैखला र सह-प्रा.डा. महेशराज ओझा सदस्य रहेका छन्। समितिलाई सात कार्यदिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।