काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहणसँगै उनले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १८८ घरको पुनर्निर्माण प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गर्दै आफ्नो कार्यकालको सुरुआत गरेका हुन्।
मन्त्रिपरिषद्को साउन ६ गते बसेको बैठकले डा. उप्रेतीलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो।
प्राधिकरणका अनुसार पदभार ग्रहणकै दिन जाजरकोट भूकम्पपीडितका बाँकी घरहरूको पुनर्निर्माण प्रक्रिया अघि बढाउने निर्णयलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको हो।
पदभार ग्रहणपछि डा. उप्रेतीले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धिलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे।