काठमाडौं । देशका ७४ जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोगको निगरानी, परीक्षण, उपचार तथा जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२६ को जनवरीदेखि हालसम्म ७४ जिल्लाबाट १० हजार २१० जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण हालसम्म ७ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।
संक्रमणको अवस्था बढ्दै गएपछि महाशाखाले असारदेखि सातै प्रदेशका सबै जिल्लाका साथै केही स्थानीय तहका प्रमुख तथा प्रदेश सचिवसँग स्क्रब टाइफसको रोकथाम र नियन्त्रणका विषयमा छलफल गर्दै आएको छ । ईडब्लुएआरएस, सोर्मासलगायत रोग निगरानी प्रणालीमार्फत संक्रमणको अवस्था र प्रवृत्तिको नियमित अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ ।
संक्रमण बढी देखिएका क्षेत्रमा परीक्षण तथा उपचारका लागि आवश्यक सामग्री र औषधि उपलब्ध गराउने कामसमेत भइरहेको छ । स्क्रब टाइफस परीक्षणका लागि आवश्यक द्रुत परीक्षण किट प्रदेश तथा स्थानीय तहमा पठाइएको छ भने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा ५ हजार परीक्षण किट बफर स्टकमा राखिएको छ ।
मन्त्रालयका अनुसार आवश्यक एन्टिबायोटिकलगायत औषधिसमेत पर्याप्त रूपमा उपलब्ध गराइएको छ । रोगको समयमै पहिचान र प्रभावकारी उपचारका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा पनि मन्त्रालयले जोड दिएको छ । असार महिनामा मात्रै करिब १ हजार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्क्रब टाइफसको निदान तथा उपचारसम्बन्धी तालिम र अभिमुखीकरण दिइएको थियो ।
यसैगरी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमार्फत स्क्रब टाइफसको रोकथाम तथा नियन्त्रणसम्बन्धी स्वास्थ्य शिक्षा सामग्री प्रसारण भइरहेको छ ।
संक्रमण बढी देखिएका क्षेत्रमा रोगको निगरानी, परीक्षण तथा उपचारको पहुँच विस्तार, स्वास्थ्यकर्मी परिचालन र स्थानीय तहसँगको समन्वयलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ ।